विराटनगर । नेकपा एमाले मोरङ जिल्लाको दशौं अधिवेशनका क्रममा विवाद भएको छ । जिल्ला अधिवेशनका लागि मनोनित प्रतिनिधिको विषयमा विवाद भएको हो । पार्टीकाे संस्थापन पक्षले एकलौटी रुपमा ४६ जना प्रतिनिधि मनोनित गरेको भन्दै इतर समूहले बन्दसत्र हलमा नाराबाजी गरेको हो ।

नाराबाजी गरेको समूहले मनोनित प्रतिनिधि खारेज गर्न माग गरेकाे थियाे । मनाेनित प्रतिनिधि मध्ये अधिकांश संस्थापन पक्षका छन् । एकलाैटी रुपमा मनाेनित गरेकाे भन्दै इतर पक्षले नाराबाजी गरेपछि अधिवेशनको बन्दसत्र राेकिएकाे छ ।

बन्दसत्रमा अध्यक्षको प्रतिवेदन जिल्ला समितिले पास नगरेको र विराटनगर महानगर कमिटीका पूर्वअध्यक्ष सागर थापालाई कारवाही गरेको विषयमा पनि विवाद भएको थियो । ‘प्रदर्शन हुँदै बन्दसत्र चल्दै थियो पछिल्लो समय मनोनित प्रतिनिधिको विषयमा नाराबाजी भयो,’ एमालेका एक अधिवेशन प्रतिनिधिले भने,‘ पार्टी भित्रको प्रतिपक्ष समूहले मनोमानी रुपमा प्रतिनिधि छनोट भयो भन्दै नाराबाजी गर्याै ।’

नाराबाजीपछि जिल्ला अधिवेशनको कार्यतालिका प्रभावित भएको छ । पूर्वनिर्धारित कार्यतालिका अनुसार आज बेलुकाबाट निर्वाचन कार्यतालिका सार्वजनिक गरेर मनोनयन प्रक्रिया अघि बढाउने तयारी थियो । तर अधिवेशन भित्र नाराबाजी भएपछि बन्दसत्र सकिएको छैन । निर्वाचन कार्यतालिका पनि प्रभावित भएको छ ।

56
Shares
१९ फाल्गुन २०८१, सोमबार ०६:१५