अस्ट्रेलियाका वैज्ञानिकहरूले ‘इन भिट्रो फर्टिलाइजेसन’ (आईभीएफ) मार्फत पहिलो पटक कङ्गारुको भ्रूण उत्पादन गरेका छन् ।
क्वीन्सल्याण्ड विश्वविद्यालयको नेतृत्वमा रहेको टोलीले आईभीएफमार्फत कङ्गारुको भ्रूण उत्पादन गरेका र यो सफलताले अन्य प्रजातिहरूलाई लोप हुनबाट बचाउन मद्दत गर्नसक्ने बीबीसीले जनाएको छ ।
दुर्लभ मार्सुपियलहरूका लागि भविष्यमा आईभीएफ प्रयोग गर्ने लक्ष्यका साथ वैज्ञानिकहरूले पूर्वी खैरो कङ्गारुहरूमा यो प्रविधि प्रयोग गरेका थिए ।
अस्ट्रेलिया विश्वकै सबैभन्दा विविध मार्सुपियल जीवजन्तुहरूको घर भएको तर स्तनपायी विलुप्त हुने दर पनि सबैभन्दा बढी रहेको प्रमुख अनुसन्धानकर्ता आन्द्रेस गाम्बिनीले बताएकाछन्। आफूहरूको अन्तिम लक्ष्य लोपोन्मुख मार्सुपियल प्रजातिहरूको संरक्षणमा सहयोग गर्नु रहेको प्रमुख अनुसन्धानकर्ता आन्द्रेसको भनाइ छ । वैज्ञानिकहरूले एकल शुक्राणुलाई सिधै परिपक्व अण्डामा प्रवेश गराउने प्रविधिद्वारा भ्रूण उत्पादन गरेका खबरमा उल्लेख छ ।
अस्ट्रेलियामा पूर्वी खैरो कङ्गारुहरूको सङ्ख्या धेरै भएकाले वैज्ञानिकहरूले घरेलु जनावर र मानिसहरूमा पहिले नै प्रयोग गरिएका भ्रूण प्रविधिहरूलाई अनुकूल बनाउने मोडेलका रूपमा प्रयोग गर्न तिनका अण्डा र शुक्राणु सङ्कलन गरेका थिए । अहिले वैज्ञानिकहरूले मार्सुपियल अण्डा र शुक्राणु सङ्कलन, सम्वर्द्धन र संरक्षण गर्ने प्रविधिहरू परिष्कृत गरिरहेका छन् ।
उचित सहकार्य, कोष र प्राविधिक प्रगतिका साथ एक दशकभित्र आईभीएफ सहायता प्राप्त मार्सुपियल जन्म सम्भव हुनसक्ने अनुसन्धानकर्ताहरूले बताएका छन् ।
अस्ट्रेलियामा कङ्गारुको कुल सङ्ख्या करोडौं छ तर केही अन्य मार्सुपियल प्रजाति धेरै नै जोखिममा छन् ।