काठमाडौं । नेकपा एमालेबाट निष्कासनमा परेको सात दिनपछि बुधबार नेता भीम रावल सञ्चारकर्मीका अघि उभिएका थिए । आफैँले आह्वान गरेको पत्रकार सम्मेलनमार्फत् रावलले पाँच दशकसम्म आफ्नोसमेत योगदान रहेको पार्टी एमाले सिद्धान्त र गन्तव्यहीन बनेकाले देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्ति बनाउने निष्कर्षमा पुगेको घोषणा गरे ।

‘एमालेको रंग खुइलिएर बामाले (बाको मात्र नाम लेउ) मा परिणत भएको छ भन्नु पर्दा अत्यन्त दुःख लागेको छ’, रावलले सार्वजनिक गरेको ३६ पृष्ठको दस्तावेजमा भनिएको छ, ‘आफ्नै घोषित सिद्धान्त, नीति र लक्ष्यका साथै नेपालको संविधानको मार्ग निर्देशनलाई समेत अवमूल्यन गरी केपी ओली गुटले नेकपा एमालेलाई दिशाहीन बनाउनुका साथै राष्ट्रिय राजनीति नै सिद्धान्तहीन, गन्तव्यहीन र आदर्शहीन बाटोमा धकेलिएको छ ।’

समर्थक र सहभागीले भरिएको हलबाट रावलले पार्टी गठनको अभ्यासमा मातृभूमि जागरण अभियान सुरू गर्ने निर्णय सुनाए, ‘देश र प्रवासमा अभियान सञ्चालन गर्दै देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्तिको निर्माण अपरिहार्य बनेको छ । यसैतर्फ हाम्रा पाइला र प्रयासहरू अगाडि बढ्नेछ ।’
14
Shares
१८ पुष २०८१, बिहीबार ०९:०५