विराटनगर । कोशी प्रदेश ज्येष्ठ नागरिक महासंघले जग्गादातासहित उत्कृष्ट जिल्ला शाखालाई सम्मान गरेको छ । चौथो साधारणसभा तथा दोस्रो अधिवेशनको अवसर पारेर महासंघले मंगलबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा उनीहरूलाई सम्मान गरेको हो ।

महासंघले समाजसेवी तथा जग्गादाता सुरेशकुमार श्रेष्ठ र कमला श्रेष्ठलाई सम्मान गरेको छ । महासंघको भवन निर्माणका लागि श्रेष्ठ दम्पत्तिले विराटनगर–५ सम्झनाचोकमा करिब १ करोड रुपैयाँ पर्ने १ कठ्ठा १ धुर जग्गा उपलब्ध गराएका थिए ।

सो जग्गामा महासंघको नयाँ भवन निर्माण गर्ने योजना छ । श्रेष्ठ ज्येष्ठ नागरिक महानगर समिति विराटनगरका अध्यक्षसमेत हुन् । कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, वडा नम्बर १ का अध्यक्ष काजीबहादुर बस्नेत, महासंघका अध्यक्ष मणिकुमार अज्र्याललगायतले दोसल्ला ओढाएर ताम्रपत्र प्रदान गरेका थिए ।

त्यस्तै महासंघले उत्कृष्ट जिल्ला शाखाका रुपमा ज्येष्ठ नागरिक जिल्ला संघ इलामलाई सम्मान गरेको छ । संघले ज्येष्ठ नागरिकलाई लुम्बिनी, देवघाट, अर्जुनधारा, बराहक्षेत्रलगायतका स्थानमा तीर्थयात्रा गराउनुका साथै कपडा वितरण, अन्तरक्रिया, रेडियो कार्यक्रमलगायत सञ्चालन गरेर ज्येष्ठ नागरिकका हक अधिकार स्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको महासंघको ठहर छ । उत्कृष्ट कार्य गरेबापत संघका अध्यक्ष देवीप्रसाद गौतमलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरिएको थियो ।

28
Shares
१६ पुष २०८१, मंगलवार १३:४६