विराटनगर । सेक्टर वन कार्यालय बेलबारीले ट्याक्टरमा लोड गर्दै गरेकाे अवस्थामा १७९ क्युफिट काठसहित ट्याक्टर नियन्त्रणमा लिएकाे छ । बेलबारीमा रहेको सृजना सामुदायिक वन उपभोक्ता समूहबाट कटानका लागि भन्दै बेलबारी नगरपालिका– ८ मा रहेको देवी काष्ट उद्योगमा लगिएकाे काठ अन्यन्त्र लैजाने तयारी गर्दैगर्दा सेक्टर वन कार्यालयकाे टाेलीले नियन्त्रणमा लिएकाे हाे ।
सामुदायिक वनबाट उपभोक्ताले खरिद गरेकाे काठ वनमा सूचीकृत भएको बाहेक अन्यन्त्रको काठ मिलमा लैजान मिल्दैन । साेमबार बेलबारीबाट बाहुनी लैजाने तयारी गरेपछि स्थानीयले विराेध गरेका थिए । सोधीखोजी गर्दा बाहिर बिक्री गरेकाे देखिएपछि सेक्टर वनकाे टाेलीलाई खबर गरेका थिए ।
वनले नियन्त्रणमा लिएकाे काठका विषयमा अनुसन्धान भइरहेकाे प्रमुख दिपेश मिश्रले जानकारी दिए ।उपभाेक्ता समितिले शोभा भुर्तेलको नाममा काठ बिक्री गरेकाे थियाे । उपभोक्ता समिति र काठ व्यावसायी मिलेर काठ तस्करी गर्न खोजिएको स्थानीयको दाबी छ ।
वन उपभोक्ता समिति अध्यक्ष देउमान लिम्बुले उपभोक्तालाई बिक्री भएकाे काठ अन्यन्त्र काठ लैजादै गर्दा वनकाे टाेलीले समातेकाे बताए । उनका अनुसार उपभोक्ताले वनबाट सस्तोमा काठ पाउने भएका कारण उपभोक्ताले खरिद गरेर बाहिर बिक्री गर्ने सम्भावना रहन्छ । काठ निकासीमा मिलेमताे नभएकाे उनकाे दाबी छ ।