सरकारले उखुको समर्थन मूल्य तोकेको दुई साता नबित्दै चिनी उद्योगीहरूले पत्रकार सम्मेलन गरे । मंसिर २५ मा आयोजित पत्रकार सम्मेलनमा नेपाल चिनी उद्योग संघका अध्यक्ष शशिकान्त अग्रवालले नेपालको बजार तस्करीबाट भित्रिएको चिनीले चलेको दाबी गर्दै स्वदेशी उद्योगीले उत्पादन गरेको चिनी गोदाममै थन्किएको बताए ।

‘आधिकारिक रूपमा आयात नभए पनि बजारमा करिब ६० हजार टन चिनी तस्करीबाट भित्रिएको छ । तस्करीको चिनीले उद्योगीले उत्पादन गरेको चिनी गोदाममै थन्कियो,’ अग्रवालले भनेका थिए, ‘बजारमा चाहिएको परिमाणमा चिनी जति पनि छ ।’

उखुको क्रसिङ धमाधम भइराखेकाले उद्योगको चिनी बिक्री भएर गोदाम शून्य हुनुपर्ने अवस्थामा गोदाममा अझै चिनी थन्किएको उनको भनाइ थियो । उखुको क्रसिङ मंसिरदेखि चैतसम्म चल्छ । संघको भनाइलाई आधार मान्दा बजारमा जति पनि चिनी छ । एकातिर क्रसिङको सिजन र अर्कोतिर तस्करीको चिनी भएकै कारण चिनीको भाउ घट्नुपर्ने हो । तर बजारमूल्य उल्टो देखिएको छ ।

चिनी बिक्री नभएको भन्दै पत्रकार सम्मेलन गरेका उद्योगीहरूले तीन साता नबित्दै चिनीको फ्याक्ट्री मूल्य बढाइदिएका छन् । मूल्य बढ्नुपर्ने खास कारण नभए पनि उनीहरूले ‘सिन्डिकेट’ गर्दै मूल्यवृद्धि गरेका हुन् ।

63
Shares
१५ पुष २०८१, सोमबार ०८:३०