संयुक्त राष्ट्रसंघले सन् १९९० डिसेम्बर १८ मा आप्रवासी श्रमिक र तिनका परिवारका सदस्यको अधिकार संरक्षणसम्बन्धी महासन्धि पारित गरेको दिनको सम्झनामा विश्वभर अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाउने गरेको छ । महानगरले वैदेशिक रोजगारबाट फर्किएका व्यक्ति र वैदेशिक रोजगारीका क्षेत्रमा कार्य गरिरहेका संस्थाहरुको सहभागितामा अन्तरक्रिया गरेको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै मेयर नागेश कोइरालाले नेपालको अर्थतन्त्रलाई गतिशील बनाउन वैदेशिक रोजगारीले महत्वपूर्ण भूमिका योगदान गरेको बताए ।उनले अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेको श्रमशक्तिलाई उत्पादनमूलक र प्रतिस्पर्धी बनाउँदै वैदेशिक रोजगारीबाट आर्जित पुँजी, प्रविधि, सीप र अनुभवलाई अधिकतम परिचालन गर्नु आवश्यक रहेको उल्लेख गरे । वैदेशिक रोजगारीका नाम हुने ठगी रोक्न रोजगारीमा जाने व्यक्तिहरु आफैं सचेत हुनुपर्नेमा उनले जोड दिए ।
सामीको मोरङ जिल्ला कार्यक्रम संयोजक दीपक राउतले वर्तमान समयमा आप्रवासन समाजको अभिन्न आयाम बन्न पुगेको विचार व्यक्त गरे । उनले गरिबी, युद्ध, आन्तरिक द्वन्द्व तथा असुरक्षा, जलवायु परिवर्तनको असर, काम तथा रोजगारीको खोजी, विश्वव्यापीकरण एवं सूचना तथा सञ्चार प्रविधिको तीव्र विकासलगायतले आप्रवासनमा वृद्धि हुँदै गएको बताए ।राउतका अनुसार अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आइओइम)ले प्रकाशित गरेको आप्रवासन प्रतिवेदन २०२४ अनुसार विश्वभरि अनुमानित २८ दशमलव १ करोड मानिस आप्रवासीका रुपमा रहेका छन् । जसमध्ये आप्रवासी श्रमिकको संख्या १६ दशमलव ९ करोड छ ।