काठमाडौं । मंसिर महिनामा घरजग्गा कारोबारमा उछाल आएको छ । गत वर्ष मंसिरको र यस वर्ष कात्तिकको तुलनामा घरजग्गाको कारोबारमा वृद्धि भएको हो ।

गत वर्षको मंसिरमा ४१ हजार ८ सय ५१ वटा घरजग्गाको कारोबार भई लिखत पारित भएकामा यसपालिको मंसिरमा यस संख्यामा वृद्धि भई ४३ हजार ३ सय ७९ वटा लिखत पारित भएको छ ।

जबकि, चालू आर्थिक वर्ष २०८१–८२ को कात्तिकमा देशभर ३३ हजार ५ सयको संख्यामा मात्र घरजग्गा कारोबार भएको थियो ।

साउन, भदौ, असोज र कात्तिकमा भएको कारोबारका आधारमा मंसिरमा कारोबार बढेको छ । असोजमा देशभर ३० हजार ५ सय २७ संख्यामा घरजग्गा कारोबार भएको थियो ।

भदौमा देशभर ३२ हजार ७ सय संख्यामा घरजग्गा कारोबार भएको थियो । साउनमा देशभर ४३ हजार ८ सय संख्यामा घरजग्गा कारोबार भएको विभागको तथ्यांक छ ।

घरजग्गा कारोबारबाट मंसिरमा मात्रै ३ अर्ब ८७ करोड ४८ लाख २६ हजार रुपैयाँ राजस्व उठेको छ ।

यसअघि साउनमा ३ अर्ब ८३ करोड ५० लाख रुपैयाँ राजस्व उठाएको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक छ । भदौमा ३ अर्ब ९ करोड, असोजमा ३ अर्ब ८ करोड र कात्तिकमा २ अर्ब ७० करोड रुपैयाँ राजस्व उठेको थियो ।

गत आवको तुलनामा चालू आवको मंसिरमा घरजग्गा कारोबारको लिखत पारितसँगै राजस्वमा केही सुधार देखिएको छ ।

गत कात्तिकमा घरजग्गाको कारोबारबाट २ अर्ब ७० करोड ४० लाख ४६ हजार ६ सय ४५ रुपैयाँबराबरको राजस्व संकलन भएकामा मंसिरमा ३ अर्ब ८७ करोड ४८ लाख २६ हजार ९ सय ७६ रुपैयाँबराबर संकलन भएको हो ।

मंसिरमा देशभर ४३ हजार ३ सय ७९ संख्यामा घरजग्गा कारोबार भएको भूमि व्यवस्था तथा अभिलेख विभागले जनाएको छ । यस्तै, गत कात्तिकमा देशभर ३३ हजार ५ सय १४ संख्यामा घरजग्गा कारोबार भएको थियो ।

विभागका अनुसार मंसिरमा सबैभदा बढी राजस्व चितवन मालपोतबाट उठेको छ । चितवनबाट ३५ करोड ९८ लाख ३१ हजार रुपैयाँ उठेको हो । यसैगरी, मालपोत कार्यालय लगनखेलले ३३ करोड ९५ लाख २ हजार ८ सय ७३ रुपैयाँबराबरको राजस्व संकलन गरेको छ ।

मालपोत कार्यालय कलंकीले २६ करोड ५७ लाख २५ हजार ४ सय २५, मालपोत कार्यालय चाबहिलले २२ करोड ५८ लाख २३ हजार ८ सय १५ रुपैयाँ राजस्व संकलन गरेको छ । यसपछि बढी राजस्व उठाउनेमा भक्तपुर मालपोत रहेको छ । भक्तपुरबाट २२ करोड ५८ लाख २३ हजार रुपैयाँ उठेको छ । डिल्लीबजार मालपोतले भने १९ करोड ९६ लाख रुपैयाँ उठाएको छ ।

साँखुले ७ करोड ५० लाख २२ हजार ६ सय २९, मनमैजुले ७ करोड २६ लाख ३४ हजार २ सय ३३, टोखाले ७ करोड १२ लाख ४५ हजार ७ सय ६५ रुपैयाँबराबरको राजस्व संकलन गरेको छ । कास्की मालपोतले भने १३ करोड ५९ लाख २४ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

यस्तै, मालपोत कार्यालय विराटनगरले १० करोड ४९ लाख १० हजार ३ सय ९१ रुपैयाँबराबरको राजस्व संकलन गरेको छ ।

3
Shares
४ पुष २०८१, बिहीबार ११:०२