विराटनगर । विराटनगरमा जारी दोस्रो ‘मिल्स फार्क फुटबल’प्रतियोगितामा रेडस्टार, अर्किड र सगरमाथा स्कुल विजयी भएका छन् । विराटनगरस्थित जुट मिलको मैदानमा भएको प्रतियोगिताअन्तर्गत आज (मंगलबार)को पहिला खेलमा पथरीको रेडस्टार स्कुलले विराटनगरको कान्तिपुर कलेजलाई १–० गोलमा पराजित गर्दै क्वाटरफाइनलमा पुगेको छ ।
रेडस्टाका लागि चोसाङ गुरुङले एक मात्र गोल गरेका थिए । प्लेयर अफ द म्याच रेडस्टारका जोशन कार्की भए । त्यस्तै, दोस्रो खेलमा विराटनगरको अर्किड कलेजले सुन्दरहरैँचको ब्राइचफ्युचर स्कुललाई ३–१ गोलमा पराजित गर्दै क्वाटरफाइनलमा पुगेको छ ।
अर्किडका लागि प्लेयर अफ द म्याच दर्शन मगरले २ र रोमन सोनामले १ गोल गर्दै टोलीलाई विजयी बनाए ।त्यसैगरी, आजै भएको तेस्रो खेलमा विराटनगरको सगरमाथा स्कुलले विराटनगरकै आदर्श माविलाई टाइब्रेकरमा ४–३ गोलमा पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
खेलको निर्धारित समयमा दुवै टोलीबाट १–१ गोलको बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट भएको हो ।