विराटनगर । मोरङको रंगेली नगरपालिका क्षेत्रको अलग अलग स्थानबाट लागुऔषधसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । रंगेली–५ का २७ वर्षीय धिरजकुमार झालाई लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन)सहित पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।

उनका अनुसार रंगेली–५ को भित्री सडक खण्डमा को ७ प ६६४६ नम्बरको मोटरसाइकलमा जाँदै गरेका झालाई शंका लागी चेक गर्ने क्रममा ब्राउन सगुर फेला परेको हो । विशेष सूचनाको आधारमा लागुऔषध ब्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय रंगेलीको संयुक्त टोलीले झाले लगाएको पाइन्टको गोजीमा प्लाष्टिकभित्र डल्लो बनाएको ११ ग्राम १ सय ४० मिलिग्राम ब्राउन सगुर बरामद गरेको छ ।

झालाई मोटरसाइकलसहित नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय रंगेलीले थप अनुसन्धान थालेको छ । त्यस्तै, रंगेली–७ शुक्रबारे आदर्श टोलस्थित इशान्त फार्मेसीमा लागुऔषध बिक्रीवितरण भइरहको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रंगेली र लागुऔषध नियन्त्रण ब्यूरो विराटनगरको संयुक्त टोलीले पसल खानतलासी गर्दा लागुऔषध ट्रामाडोल ५ हजार ३ सय थान क्यापसुल, स्पासपेन २ हजार थान ट्याब्लेट र डाइजे १३ हजार ६ सय थान ट्याब्लेट फेला परेका थियो ।

औषधि पसलमा लागुऔषध परेपछि फार्मेसी सञ्चालक सोही ठाउँका २१ वर्षीय संजयकुमार मण्डललाई नियन्त्रणमा लिइ इलाका प्रहरी कार्यालय रंगेलीमा राखेर थप अनुसन्धान भइरहेको डीएसपी जाेशीले बताए ।पक्राउ परेका दुवै जनाविरुद्ध लागुऔषध कसुरमा थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

28
Shares
२ पुष २०८१, मंगलवार १०:०७