युवा जनशक्तिको वैदेशिक पलायनलाई रोक्ने उद्देश्यले स्वदेशमा नै रोजगारीको अवसर प्रदान गर्नका लागि मेला आयोजना गरिएको मेयर कोइरालाले जानकारी दिए ।
विराटनगर महानगरपालिकाले बेरोजगार युवायुवतीलाई रोजगारीको अवसर प्रदान गर्न, युवा श्रम शक्ति र रोजगारदाताको बीचमा समन्वय गर्ने गरी रोजगार मेला आयोजना गरिएको उनको भनाइ छ ।दुईदिने मेलाबाट ३ सयभन्दा बढी युवायुवतीले रोजगारी प्राप्त गर्ने मेयर कोइरालाले बताए । ‘२०८० सालमा आयोजना गरिएको पहिलो महानगर रोजगार मेलाबाट एक सय ९७ जना युवा रोजगार भएका थिए, उनले भने, ‘यस वर्ष ४ सय जनाभन्दा बढी बेरोजगार युवाले रोजगार प्राप्त गर्ने हाम्रो अनुमान छ ।’
महानगरकी उपमेयर शिल्पा निराला कार्कीले रोजगार उपलब्ध गराउने निकाय र रोजगारको खोजीमा रहेका युवालाई एउटै थलोमा राखेर पुलको काम महानगरपालिकाबाट भएको बताइन् ।३० वटाभन्दा बढी स्टल रहेको रोजगार मेलामा आफ्नो दक्षता र सीपको आधारमा रोजगारदाताले युवा जनशक्तिसँग परामर्श गर्नेछन् ।
यसैबीच, मेलामा सबैभन्दा बढी स्टाफ नर्सको माग आएको महानगरको रोजगार शाखाका कपिल थापाले जानकारी दिए । नोवेल, विराट मेडिकल कलेज, मोरङ सहकारी अस्पताल, न्यूरो अस्पताललगायतबाट १ सयभन्दा बढी स्टाप नर्सको माग आएको थापाले बताए ।