विराटनगरस्थित शहीद रंगशालामा आयोजित विशेष समारोहमा महानगरस्तरीय प्रतियोगिताको महानगरका मेयर नागेश कोइरालाले उद्घाटन गरे । विराटनगरस्थित पोखरिया माविको समन्वयमा भएको समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले विद्यालयस्तरदेखि नै खेलाडी उत्पादन गर्न राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।
महानगरको सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेल, वडा नम्बर ३ का अध्यक्ष वासुबहादुर बस्नेत, १० का अर्जुन गिरीलगायतको उपस्थितिमा भएको कार्यक्रममा उपमेयर शिल्पा निराला कार्कीले विद्यालयदेखि नै खेलकुदमा अभिरुची बढाउन राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता महत्वपूर्ण भूमिका खेल्ने बताए ।तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा ३३ सामुदायिकसहित ६२ विद्यालयको सहभागिता रहेको छ । भलिबल, कबड्डी, एथलेटिक्स र मार्सल आर्ट गरी ४ विधाका ६६ वटा खेलमा १ हजार ४१८ जना खेलाडीले प्रतिस्पर्धा गर्ने महानगरको शिक्षा महाशाखाका अधिकृत कृष्ण भट्टराईले जानकारी दिनुभयो । सो प्रतियोगितामा ११७ जना प्रशिक्षक र २१ जना खेल शिक्षकले प्रतियोगितामा सहभागी विद्यार्थीहरुलाई प्रशिक्षण दिनेछन् ।