पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको कनकाई नगरपालिका–८ लक्ष्मीपुरमा ना ४ च ४०८४ नम्बरको छोटाहात्ती गाडीले ठक्कर दिँदा ६५ वर्षीय गर्वसिंह राईको मृत्यु भएको छ । दुर्घटनामा परेर घाइते भएका उनको उपचारका क्रममा बीर्तासीटी अस्पतालमा मृत्यु भएको हो ।
त्यस्तै, पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुनसरीको इनरुवा नगरपालिका–६ मा नम्बर नखुलेको सवारीसाधनले ठक्कर दिँदा ९३ वर्षीय वृद्धको मृत्यु भएको छ । दुर्घटनामा परेर घाइते भएका अमरबहादुर अधिकारीको इनरुवा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।सुनसरीको हरिनगरा गाउँपालिका–४ मा को १ ख ६४३१ नम्बरको टिपरले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु भएको छ । टिपरको ठक्करबाट साइकलमा यात्रा गरिरहेका देवानगन्ज गाउँपालिका–७ का ५० वर्षीय झलु उराउको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उदयपुरको त्रियुगा नगरपालिका–१० बोक्सेमा बागमती प्रदेश ०१–००६ ख ५८७१ नम्बरको हायस गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । दुर्घटनामा परेर घाइते भएका त्रियुगा नगरपालिका–११ का ५५ वर्षीय परनसेर राईको उपचारका क्रममा जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको हो ।