गृहमन्त्री लेखकलाई नेपाल पत्रकार महासंघ सुनसरीले ध्यानाकर्षण पत्र बुझाएको हो । साम्पाङले बारम्बार पत्रकार लक्षित धम्कीपूर्ण अभिव्यक्ति दिँदा काम गर्ने वातावरण नै नभएको र सञ्चारकर्मीहरु असुरक्षित भएको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण गराएको महासंघ सुनसरी सचिव ध्रुव ढकालले बताए ।
ध्यानाकर्षण पत्र बुझाउँदै नेपाल पत्रकार महासंघ सुनसरीका पूर्वअध्यक्ष तथा अग्रज पत्रकार हर्ष सुब्बाले नगरप्रमुख साम्पाङले बारम्बार पत्रकारलाई धम्काउँदासमेत प्रहरी प्रशासनबाट कुनै कदम नचालिएको भन्दै यसमा गम्भीर हुन गृहमन्त्रीलाई आग्रह गरे ।ध्यानाकर्षणपत्र बुझ्दै गृहमन्त्री लेखकले आफूपूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेकोले बताउँदै लोकतन्त्रमा प्रेस पूर्ण स्वतन्त्र हुनुपर्ने उल्लेख गरे । लोकतन्त्र र प्रेस एक अर्काका परिपुरक भएको जनाउँदै उनले प्रेस स्वतन्त्रता रहेपछि लोकतन्त्र जीवन्त रहने बताए । थिति र विधिविपरीत काम गर्दै आएका नगरप्रमुख साम्पाङविरुद्ध प्रहरीमा उजुरी परेको छ । उनको कामका विषयमा समाचार लेखेका पत्रकारलाई सामाजिक सञ्जालमार्फत धम्की दिएका नगरप्रमुख साम्पाङविरुद्ध इलाका प्रहरी कार्यालय धरानमा उजुरी परेको हो ।
पत्रकार महासंघ सुनसरीको भेलापछि नेपाल पत्रकार महासंघ सुनसरी जिल्ला अध्यक्ष जनकऋषि राई र केन्द्रफय पार्षद् गोपाल दाहालले शान्ति सुरक्षासहित आवश्यक कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएका हुन् । बुधबार साम्पाङले सामाजिक सञ्जालमार्फत पत्रकार महासंघ सुनसरीका अध्यक्ष राई र पत्रकार दाहाललाई धम्की दिएका थिए । उनको अभिव्यक्तिले आफूहरू असुरक्षित भएको भन्दै पत्रकारहरूको सुरक्षाको माग गर्दै प्रहरीमा उजुरी दिएको अध्यक्ष राईले जानकारी दिए । उजुरीमा सामाजिक सञ्जालमा धम्कीपूर्ण ‘कमेन्ट’ गर्नेहरू लेखक राईसहित दर्जन व्यक्तिलाई तत्काल कारबाही गर्न पनि माग गरिएको छ ।