विराटनगर । नेपाली काङ्ग्रेसको इतर समूहको अग्रसरतामा मंगलबारबाट विराटनगरमा जारी कोशी प्रदेशका पालिका सभापतिहरूको भेलाको खुल्ला सत्र सम्पन्न भएको छ । काङ्ग्रेस नेता डा. शेखर कोइरालाको नेतृत्वमा भएको कार्यक्रममा सहभागी वक्ताले केन्द्रीय कार्यालयले सोमबार जारी गरेको पत्रको चर्चासँगै आलोचना गरे ।

केन्द्रीय कार्यालयले इतर समूहको कार्यक्रम रोक्न कोशी प्रदेशमा मङ्सिर २२ गते प्रदेश सम्मेलनबाहेक कार्यक्रम नरहेको उल्लेख गरेको थियो । तयारी गरिसकेको कार्यक्रममा कार्यालयले जारी गरेको पत्रका कारण इतर समूहका नेताहरूले आक्रोशित बनेका थिए ।

कार्यक्रममा डा. कोइरालाले पालिका सभापतिहरूको संरक्षण आफूले गर्ने प्रतिबद्धता व्यक्त गरे । महाधिवेशन समयमै गर्नुपर्ने बताएका उनले पालिकामा सुशासन कसरी गर्न सकिन्छ भन्ने कुराको जोड दिन पालिका सभापतिहरूलाई आव्हान गरेको बताए ।

कोशी प्रदेशका पूर्व मुख्यमन्त्री एवं काङ्ग्रेस नेता केदार कार्कीले काङ्ग्रेस जनतामा जानुपर्ने आवश्यकता रहेको बताए ।

यसैगरी मोरङ जिल्ला सभापति तथा पूर्व मन्त्री डिकबहादुर लिम्बूले भर्खरै सम्पन्न उपनिर्वाचनमा विराटनगरसँग सीमा जोडिएको ग्रामथान गाउँपालिकामा विजय हासिल गर्न नसकेकोमा आगामी ८४ को निर्वाचनमा जित्नेगरी लाग्नुपर्नेमा जोड दिए ।

नेता गुरुराज घिमिरेले विधान बमोजिम भेला भएको दाबी गर्दै पत्र पठाएर धम्क्याउने प्रयास नगर्न आग्रह गरेका छन् । उनले भने, ‘पार्टीभित्र बाघचाल खेल्ने प्रयास नगरौं । जनतामा आशा जगाऔँ ।’

केन्द्रिय सदस्य डा. मीनेन्द्र रिजालले भने देउवालाई दोष नदिन आग्रह गरे । आन्तरिक समस्यालाई वार्ता गरौँ, बजारमा छरपस्ट नगरौँ, उनले भने, ‘आगामी नेतृत्वले निषेध होइन, प्रतिस्पर्धाको राजनीति गर्न जरूरी छ ।’

रिजालले काङ्ग्रेसको हातमा भएको सत्तालाई जनतामा केन्द्रित गर्न आग्रह गर्दै विभाजनको सन्देह नभई जनतामा भएको निराशामा केन्दित हुन आह्वान गरेका छ्न् ।

कांग्रेस कोशी प्रदेशका महामन्त्री उमेश थापाले धम्काउनका लागि पत्रले बमको नभइ पटकाको कामसमेत नगरेको उल्लेख गरे । सभापतिहरूको भेलाले कार्यक्रममा उत्साह थपेको भन्दै उनले १५ औं महाधिवेशनमा डा. शेखर कोइरालाको नेतृत्वमा पार्टी निर्माण गर्नसमेत आह्वान गरे ।

कार्यक्रम पार्टीलाई संगठित बनाउनका लागि आवश्यक रहेको नेपाली काङ्ग्रेस विराटनगर महानगर सभापति दीपक चापागाईंले बताए । कार्यक्रममा बोल्दै उनले भने, ‘हरेक संकटमा विराटनगर जागेको अवस्था छ । आज काङ्ग्रेस कमजोर भएको अवस्थामा विराटनगरले सन्देश दिन खोजेको हो ।’

28
Shares
१९ मंसिर २०८१, बुधबार १०:३९