न्युजिल्यान्ड भ्रमणमा रहेको पाहुना टोली इंग्ल्यान्डले तीन खेलको टेस्ट सिरिजअन्तर्गतको पहिलो टेस्ट जितेको छ। आइतबार बिहान सम्पन्न खेलमा इंग्ल्यान्डले न्युजिल्यान्डलाई ८ विकेटले पराजित गर्दै सिरिजमा १-० को अग्रता बनायो।

२८ नोभेम्बर बाट क्राइस्टचर्चमा जारी पहिलो टेस्टको दोस्रो इनिङमा इंग्ल्यान्डले जितका लागि १ सय ४ रनको लक्ष्य पाएको थियो। उक्त लक्ष्य इंग्ल्यान्डले २ विकेट गुमाएर पूरा गर्दै खेल जित्न सफल भयो। पहिलो इनिङको उच्च स्कोरनै इंग्ल्यान्डलाई सहज जितका लागि महत्त्वपूर्ण बन्यो।

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले पहिलो इनिङमा ३ सय ४८ रन बनाएको थियो। उसका लागि केन विलियमसनले ९३ रन तथा ग्लेन फ्लिप्सले ५८ रनको इनिङ खेल्दा कप्तान टोम लाथमले पनि ४७ रन बनाएका थिए।

जवाफि इनिङ सुरु गरेको इंग्ल्यान्डले सानदार प्रदर्शन गर्दै ४ सय ९९ रन बनाएर पहिलो इनिङमै १ सय ५१ रनको अग्रता बनाउन सफल भयो। इंग्ल्यान्डका लागि ह्यारी ब्रुक्सले १ सय ७१ रनको सानदार इनिङ खेल्दा कप्तान बेन स्टोक्सले ८० रन बनाए। त्यस्तै ओली पपले ७७ रनको स्कोर बनाएका थिए भने टिमको उच्च स्कोरमा बेन डकेटले ४६ रन र गुस एटकिन्सले ३३ रन बनाए।

पहिलो इनिङमा १ सय ५१ रनले पछि परेको किवी टोली दोस्रो इनिङमा उच्च रन बनाउन असफल भयो। २ सय ५४ रनमै अलआउट भयो। दोस्रो इनिङमा ड्यार्यल मिचेलले ८४ रन बनाउँदा केन विलियमसनले ६१ रन बनाउनु बाहेक अन्यको प्रदर्शन गतिलो रहेन्। इंग्ल्यान्डका लागि ब्रेडन कर्सले ६ विकेट लिँदा क्रिक्स वक्ले ३ विकेट लिए अर्को १ विकेट गुस एटकिन्सनको नाममा रह्यो।

त्यसपछि दोस्रो इनिङमा समग्रमा १ सय ४ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले २ विकेट गुमाएर पूरा गरेको थियो। इंग्ल्यान्डका ज्याकब बेथहेल ५० र जो रुट २३ रनमा अविजित रहे। त्यसअघि बेन डकेट २७ रनमा आउट हुँदा ज्याक क्राउली १ रनमा पेभिलियन फर्किएका थिए। अब यी दुईबिचको दोस्रो टेस्ट शुक्रबारबाट वेलिङ्गटनमा सुरु हुनेछ।

21
Shares
१६ मंसिर २०८१, आईतवार १०:२१