खेलको १०औं मिनेटमै बुकायो साकाको कर्नरलाई ग्याब्रियल मघालयसले नजिकैको पोस्टमा फ्लिक गर्दै आर्सनललाई अग्रता दिलाए।
वेस्ट ह्यामको कमजोर डिफेन्सको फाइदा उठाउँदै सुरुवाती अग्रता लिएको आर्सनलले २७औं मिनेटमा अग्रता अग्रता दोब्बर बनायो। लियान्ड्रो ट्रोसार्डले एक उत्कृष्ट टिम मूभलाई नजिकबाट आकर्षक गोलमा परिणत गरेका थिए।साकालाई लुकास पाक्वेटाले पेनाल्टी क्षेत्रभित्र ट्रिप गरेपछि ३४ औं मिनेटमा ओडेगार्डले पेनाल्टीमार्फत गोल गर्दै आर्सनललाई ३-० ले अघि बढाए। ३६औं मिनेटमा म्याक्स किल्मानले लामो बल चुकाएपछि काई हाभर्ट्जले वान-अन-वानमा गोल गर्दै स्कोर ४-० बनाए।
त्यसको दुई मिनेटपनि नवित्दै वेस्ट ह्यामका लागि आरोन वान-बिसाकाले लगातार दोस्रो खेलमा गोल गर्दै टिमलाई खेलमा फर्काउने प्रयास गरे। पहिलो हाफमै स्कोर अन्तर घटाउने क्रममा वेस्टह्यामका डिफेन्डर इमर्सनले ४० औ मिनेटमा उत्कृष्ट फ्रि-किकमार्फत टिमलाई ४-२ को अवस्थामा ल्याएका थिए। तर, साकाले आर्सनलको तीन गोलको अग्रता पुनःपुर्याउने क्रममा पेनाल्टीमा पाँचौँ गोल गरे।पहिलो हाफको इन्जुरी समयमा फाबियान्स्कीले कर्नर क्लियर गर्ने क्रममा ग्याब्रियललाई पन्च गर्दा आर्सनलले दोस्रो पेनाल्टी पाएको थियो जसलाई साकाले कुनै गल्ती गरेनन्।
त्यसपछि दोस्रो हाफमा भने दुवै टिमले गोलका प्रयास गरेपनि सफल हुन नसक्दा ५-२ ले आर्सनलले खेल आफ्नो पक्षमा पार्यो। जितसँगै आर्सनल लिगमा दोस्रो स्थानमा उक्लिएको छ। उसको १३ खेलबाट २५ अङ्क भएको छ। एक खेल कम खेलेको शीर्ष स्थानको लिभरपुलभन्दा आर्सनल ६ अंकले पछि छ।
लिभरपुल आइतबार तेस्रो स्थानको म्यानचेस्टर सिटीसँग भिड्दैछ। आर्सनलको जितले सिटी भने तेस्रो स्थानमा धकेलियो। वेस्ट ह्याम भने तालिकाको १४ औं स्थानमा छ र रेलिगेसन जोनभन्दा टोली ६ अंकले मात्र माथि छ।