काठमाडौँ – आगामी १५ मंसिरबाट सुरु हुने नेपाल प्रिमियर लिगको उत्कृष्ट नेपाली खेलाडीले गाडी पुरस्कार पाउने भएका छन्। नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा हुने प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीलाई शारडा समूहले गाडी प्रदान गर्ने भएको हो।

एनपीएलको व्यावसायिक अधिकार व्यवस्थापन गरिरहेको ब्रान्ड लजिक र क्यानको संयुक्त पहलमा मंगलबार सम्झौता गरिएको हो। सम्झौतापत्रमा ब्रान्ड डिजिटल लजिक प्रा.लि. का प्रमुख कार्यकारी अधिकृत रोशन निरौला र शारडा समूह अन्तर्गतको एसपिजि अटोमोबाइल्सका निर्देशक गौरव शारडाले हस्ताक्षर गरेका हुन्।

क्यानका सचिव पारस खड्काले एनपीएलको फाइनलको दिन प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका नेपाली खेलाडीलाई गाडी पुरस्कार प्रदान गर्ने बताए। शारडा अटोमोबाइलसका निर्देशक गौरव शारडाले नेपाली क्रिकेट विकासमा यो कदम महत्वपूर्ण हुने विश्वास व्यक्त गरे।

त्यस्तै, सचिव खड्काले नेपाली क्रिकेटको इतिहासमै यो पहिलो पटक कुनै खेलाडीले एक प्रतियोगितामा गरेको उच्च प्रदर्शनका आधारमा कार पुरस्कार पाउन लागेको भन्दै सहयोग गर्ने शारदा ग्रुपलाई सहयोगका लागि धन्यवाद दिएका थिए।

7
Shares
१२ मंसिर २०८१, बुधबार ०७:१८