विराटनगर । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत विराटनगर महानगरपालिकाले सोमबार वृहत ¥यालीको आयोजना गरेको छ । विराटनगर महानगरपालिका परिसरबाट मेयर नागेश कोइरालाको नेतृत्वमा र्याली सुरु भएको थियो ।

र्यालीले रेडक्रसचोक, जिल्ला प्रशासन चोक, शहीद रंगशाला, अस्पताल चोक, ठाकुरवाडी रोड बुधहाटचोट, ट्राफिक चोक हुँदै हिमालयरोडमा पुगेर कोणसभामा परिणत भएको थियो ।

मेयर कोइरालासहित उपमेयर शिल्पा निराला कार्की, मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, एसपी नारायण चिमरिया, महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेल, काजीबहादुर बस्नेत, कुमार पोखरेल, जितन थापा, तीर्थेन्द्र नेउपानेसहित कार्यपालिकाका सदस्यलगायत विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिको सहभागितामा भएको रयालीमा पञ्चेबाजासँगै सहभागीले नाचगानसमेत गरेका थिए ।

र्यालीमा माइती नेपाल, एवीसी नेपाल, ओरेक नेपाल, नारी विकास संघ, इन्सेक, कोकन, कोशी नर्सिङ कलेज, स्काउट, महेन्द्र मोरङ क्याम्पस, नेपाल प्रहरी, विभिन्न सरकारी कार्यालयका कर्मचारी, नागरिक समाज, नगर बाल क्लबलगायतका गैसस महासंघ मोरङ र मानवअधिकार सञ्जालमा आबद्ध रहेका संघसंस्थाका प्रमुख र प्रतिनिधिसहित १५ सयभन्दा बढीको सहभागिता रहेको थियो ।

‘हामी सबैको प्रतिबद्धता ः लैंगिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता’ भन्ने मूल नाराका साथ मंसिर २५ गतेसम्म सञ्चालन हुने अभियानअन्तर्गत विभिन्न संघसंस्थाको संयोजनमा विभिन्न कार्यक्रम आयोजना हुनेछ ।
14
Shares
१० मंसिर २०८१, सोमबार १९:०६