कार्यक्रम सञ्चालन गर्न सहरी विकासमन्त्री प्रकाशमान सिंह तथा सम्बन्धित प्रदेशका भौतिक पूर्वाधारमन्त्रीहरूको उपस्थितिमा बिहीबार काठमाडौंमा समझदारीपत्रमा हस्ताक्षर गरिएको छ । सहरी विकास मन्त्रालय, प्रदेश र स्थानीय तहका प्रमुखहरूबीच हस्ताक्षर गरिएको हो । सडक सुधारका लागि विश्व बैंकले १० करोड र सरकारले २ करोड ८० लाख अमेरिकी डलर खर्च गर्नेछन् । बैंकले सफ्ट लोनअन्तर्गत सहयोग गरेको हो । आवधिक मर्मत, नियमित मर्मत, स्तरोन्नति र नयाँ बनाउनेसमेत करिब ३१ सय किमि सडक क्षेत्रमा उक्त रकम खर्च गरिनेछ ।
मन्त्रालयका अनुसार प्रदेश र स्थानीय सरकारले प्रत्यक्ष रूपमा विकास साझेदारसँग सम्झौता गर्न मिल्दैन । त्यसैले केन्द्रीय सरकारले प्रदेश र स्थानीय तहमार्फत खर्च गर्ने गरी कार्यक्रम अघि बढाएको हो । संघीय सरकार र विश्व बैंकबीच अगस्ट २, २०२४ मा सम्झौता भइसकेको छ । प्रादेशिक सडक सञ्जालको सुधार गर्दै स्थानीय तहको केन्द्रमा सडक पहुँच पर्याउने रणनीति तयार गरेर सहयोग रकम खर्च गरिनेछ ।सहरी विकास मन्त्रालयका अनुसार तीनै प्रदेशको सय किमि सडक नयाँ निर्माण गरे स्थानीय तहको वडा कार्यालय जोडिनेछ । त्यस्तो सडक बाह्रै महिना सञ्चालन हुने गरी निर्माण गरिनेछ । प्रादेशिक सडक दुई सय किमिको स्तरोन्नति र तीन सय किमिको आवधिक मर्मत गरिने पीएलआरआईपीका कार्यक्रम प्रमुख तथा सहसचिव माधवप्रसाद भट्टराईले जानकारी दिए ।