नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले रिक्त रहेका ४४ मध्ये ४२ पदमा उम्मेदवारको टुङ्गो लागेको र बाँकी दुई पदको पनि आज अन्तिम निर्णय हुने जानकारी दिनुभयो । उहाँका अनुसार काठमाण्डौको कीर्तिपुर नगरपालिकामा मेयर र एक वडाध्यक्ष पदका लागि उम्मेदवार निर्णय हुन बाँकी छ ।
कांग्रेसबाटै मेयरमा जितेका राजकुमार नकर्मीको निधन भएपछि कीर्तिपुर नगरपालिकामा उपचुनाव हुन लागेको हो । तर कांग्रेसलाई कीर्तिपुरमा मेयरको उम्मेदवार तय गर्न सकस देखिएको छ ।माओवादीले कीर्तिपुरको मेयरमा प्रा.डा.शिवशरण महर्जन, एमालेले डा.सुरेन्द्र मानन्धर र राप्रपाले ध्रुव महर्जनलाई उम्मेदवारमा सिफारिश गरिसकेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई पनि उम्मेदवार चयनमा सकस परेको छ ।
उपचुनावका लागि भोलि उम्मेदवारी दर्ता हुँदैछ । सत्तामा सहकार्य भए पनि उपचुनावमा तालमेल वा सहकार्य नभएको कांग्रेस र एमालेले जनाएका छन् । सरकारबाहिर रहेका माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टी नेपालले पनि छुट्टाछुट्टै उम्मेदवारी दिने गरी तयारी गरेका छन् ।निर्वाचन आयोगका अनुसार मङ्सिर १६ मा जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिकाको अध्यक्ष दुई, उपाध्यक्ष तीन, वडाध्यक्ष ३५, नगरपालिकाको मेयर र उपप्रमुख एक/एक गरी ४४ पदमा उपचुनाव हुनेछ ।
यसैबीच उपचुनावका लागि ३८ वटा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएका छन् । ३२ वटा मुख्य निर्वाचन अधिकृतको कार्यालय र छ वटा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको निर्वाचन आयोगले जनाएको छ ।