राजनीतिमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको समावेशिता र प्रतिनिधित्वको आवाज उठाउँदै आएको मायाको पहिचान नेपालको पहलमा जसपा नेपालले उम्मेदवारी दर्ताका लागि पार्टीको आधिकारिक पत्र शुक्रबार प्रदान गरेको छ।
तेस्रो लिङ्गी महिला एवं कीर्तिपुरमा रहेको समर्पण सभ्य समाज नेपालका सचिव हनि महर्जन र स्वयंसेवी मौनी महर्जनले जसपा नेपालबाट उम्मेदवारी दर्ता गर्ने आधिकारिक पत्र बुझेका छन्। जसपा नेपालका उपाध्यक्ष विद्युत् बज्राचार्यले काठमाडौँ जिल्ला अध्यक्ष विक्रम पौडेल, मायाको पहिचान नेपालका सचिव सुरेन्द्र पाण्डे, नेपालमा दोस्रो पटक भएको मिस्टर गे हेन्डसमका उपाधि विजेता मनिन्द्र सिं दनुवारलाई साथै राखेर हनि र मौनीलाई उम्मेदवार दर्ता गर्ने पार्टीको आधिकारिक पत्र हस्तान्तरण गरे।जसपा नेपालले उम्मेदवारको पत्र दिएसँगै मायाको पहिचान नेपालले शनिबार बिहान ११ बजे पत्रकार सम्मेलन गरेर उम्मेदवारी घोषणाबारे जानकारी दिन लागेको जनाएको छ। मायाको पहिचान नेपालका सचिव सुरेन्द्र पाण्डेले शनिवार बिहान ११ बजे अनामनगर सिंहदरबारको पूर्वी गेट अगाडि पत्रकार सम्मेलन राखिएको जानकारी दिए।