संयन्त्रमा दुवै दलबाट समान तिन जनाको सहभागिता रहेको बताएका इन्चार्ज राईले आउँदो एकसाताभित्र जिल्लातहमा समेत संयन्त्र गठन गर्ने जानकारी दिए । पत्रकार सम्मेलनका क्रममा संयन्त्रको बैठक दुवै दलबाट आलोपालो गर्ने बताएका राईले सरकारलाई पूर्णता दिन केहीदिनभित्र मुख्यमन्त्रीले मन्त्रीहरु नियुक्त हुने विश्वास लिए। उनले भने, ‘सरकारको कामकार्वाही प्रभावकारी बनाउन मुख्यमन्त्री ज्यूले मन्त्रीहरुको नियुक्त गर्नु हुनेछ । लामो समय मन्त्रीहरुको नियुक्त विलम्ब गर्ने कुरा आएन । सकेसम्म चाडै मन्त्रीहरुको नियुक्त गरि कामलाई अघि बढाउनुपर्नेछ । त्यसका लागि सहजीकरण गर्नुपरे संयन्त्रले सहयोग गर्नेछ ।’
दुई दलीय प्रदेश संयन्त्रको बैठकबारे जानकारी दिदै इन्चार्ज राईले सत्तारुढ दलबीच विभिन्न सात बुदें सहमति भएको बताए । जसअनुसार संयन्त्रको बैठकको अध्यक्षता पालैपालो गर्ने सहमति भएको छ । उनले भने, ‘बैठकले कांग्रेसका प्रदेश महामन्त्री उमेश थापालाई सदस्यमा थप गरेको छ । त्यसैगरि, संयन्त्र सहजीकरण गरि एकसाताभित्र जिल्ला संयन्त्र गठन गरिनेछ ।’पत्रकार सम्मेलनमा कांग्रेस कोशी प्रदेशका सभापति तथा पूर्वमुख्यमन्त्री उद्धव थापाले जनताप्रति छाएको निराशालाई चिर्नका लागि संयन्त्रले प्रभावकारी काम गर्ने बताए । उनले भने, ‘अहिले जनतामा छाएको निराशालाई फेरिपनि आशामा बदल्नका लागि निमित्त गठबन्धन भएको हो । अहिले हाम्रो पहिलो मिसन जनतामा आशा र भरोसा दिलाउने काम गर्नुछ । यसै मिसनमा गठबन्धन अघि बढ्न संयन्त्रले काम गर्नेछ ।’
मंगलबार राती प्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगरमा प्रदेश सरकारको कामकार्वाहीको सन्र्दभमा टिप्पणी गरेसंगै संयन्त्रले प्रदेश सरकारको कामकार्वाहीलाई प्रभावकारी बनाउन मंसिर १४ गते विराटनगरमा छलफल राखेको छ । त्यसैगरि, मंसिर २९ गते प्रदेशका सबै जिल्ला संयन्त्रका सदस्यहरुको संयुक्त बैठक र छलफल विराटनगरमा गरिने सहमति भएको छ ।सत्तारुढ दलिय सन्यन्त्रमा कांग्रेसबाट कोशी प्रदेशका सभापति तथा संसदीय दलका नेता उद्धव थापा, प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भुपेन्द्र राई, प्रदेशका महामन्त्री उमेश थापा, नेकपा एमालेबाट कोशी इन्चार्ज राईसहित मुख्यमन्त्री हिक्मतकुमार कार्की, र प्रदेश अध्यक्ष घनश्याम खतिवडा रहेका छन् ।