मन्त्री पदबाट गत बुधबार राजीनामा दिएका उनलाई शनिबार नेकपा एमालेको सचिवालय बैठकले निलम्बन गरेको थियो भने आइतबार उनी प्रहरी हिरासतमा पुगेका छन् ।
अधिकारी पक्राउबारे प्रहरीले प्रदेशसभाका सभामुखलाई मौखिक जानकारी दिइसकेको छ । आज लिखित जानकारी दिएपछि अधिकारीको प्रदेशसभा सदस्य पद निलम्बन हुनेछ ।संविधानको धारा १८७ को उपधारा ६ मा प्रदेशसभाको सदस्यलाई अधिवेशन बोलाइएको सूचना जारी भएपछि अधिवेशन अन्त्य नभएसम्मको अवधिभर पक्राउ नगरिने उल्लेख छ । तर, कुनै फौजदारी अभियोगमा कुनै सदस्यलाई कानून बमोजिम पक्राउ गर्न यो उपधाराले बाधा गरेको नमानिने स्पष्टिकरण छ ।
कुनै सदस्य पक्राउ गरिएमा पक्राउ गर्ने अधिकारीले त्यसको सूचना प्रदेश सभाको अध्यक्षता गर्ने व्यक्तिलाई तुरुन्त दिनु पर्नेछ । संविधानको व्यवस्था अनुसार प्रहरीले प्रदेशसभालाई अधिकारी पक्राउ गरेको सूचना दिइसकेको छ ।प्रदेशसभा नियमावलीको नियम १९० मा प्रदेशसभाको सदस्य पक्राउ सम्बन्धि व्यवस्था छ । सो नियमको उपनियम २ मा बैठक नचलेको अवस्थामा प्राप्त भएको सूचना सचिवालयको सूचनापाटीमा टाँस गरि प्रचारप्रसार गर्नुपर्ने व्यवस्था रहेको छ । सोहि नियमको उपनियम ३ मा त्यस्तो सदस्यलाई प्रदेशसभाको सदस्यको हैसियतमा काम गर्न रोक लगाउने व्यवस्था रहेको छ ।