संविधानसभा सदस्य डम्बरध्वज तुम्बाहाम्फे र फुङलिङ नगरपालिकाका नगरप्रमुख अमिर मादेनले केबलकार निर्माणको सुरुवाती बिन्दु काफ्लेपाटीमा पूजा गर्दै संयुक्त रूपमा शिलान्यास गरे। पाथीभरा क्षेत्रमा केबलकार निर्माण पक्षधर र विरोधीबीच शुक्रबार झडप हुँदा छ जना घाइते भएका थिए।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार घाइते हुनेमा केवलकार पक्षधर फुङ्लिङ नगरपालिका—४ का ४० वर्षीय दामोदर अधिकारी, मेरिङदेन गाउँपालिका–४ का २६ वर्षीय कुमार शेर्पा, विपक्षका फुङ्लिङ नगरपालिका–४ बस्ने ४५ वर्षीय चन्द्र मादेन रहेका छन्।पाथीभरामा भरियाका रूपमा काम गर्दै आएका फक्ताङलुङ गाउँपालिका–५ का अर्जुन लिम्बू, सुरक्षकर्मीतर्फ सशत्र प्रहरी डिगेन्द्र ओली र प्रहरी जवान अभिनास माझी घाइते भएको कार्यालयका सूचना अधिकारी विवेक बस्नेतले जानकारी दिए। ताप्लेजुङको पाथीभरामा केवलकार निर्माणका विषयमा दुईपक्षबीच केहीबेर ढुङ्गा हानाहान भएको थियो।