विराटनगर । विराटनगरमा एक जना भारतीय नागरिक सुतेकै ठाउँमा बिहीबार बिहान मृत फेला परेका छन् ।

विराटनगर महानगरपालिका–५ सम्झना चोकस्थित गणेश शर्माको घरमा डेरा बस्ने भारत सिलिगुडीका ५० वर्षीय सपन दास मृत फेला परेको प्रहरीले जनाएको छ । अघिल्लो साँझ खाना खाएर सुतेका दास भोलिपल्ट बिहान ७ बजेतिर बोलाउँदा नबोलेपछि उनकै साथी गणेश राजवंशीले प्रहरीलाई खबर गरेका हुन् ।

घटनाको जानकारी पाउनसाथ वडा प्रहरी कार्यालय विराटनगरबाट खटिएको इन्स्पेक्टर राजेश दत्त नेतृत्वको टोली घटनास्थल पुगेको थियो । कानुनी प्रक्रिया पूरा गरेर शवलाई पोस्टमार्टमका लागि कोशी अस्पताल लगिएको छ ।

घटना शंकास्पद नरहेको प्रहरीले जनाएको छ । यद्यपि, दासको मृत्युको कारण खुल्न सकेको छैन । घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

28
Shares
२२ कार्तिक २०८१, बिहीबार १४:१९