काठमाडौँ । युएईमा बुधबारबाट सुरु भएको महिला यू-१९ विश्वकप अन्तर्गत एसिया क्षेत्र छनोटको आफ्नो पहिलो खेलमा नेपालले सानदार सुरुवात गरेको छ। नेपालले दिएको १ सय ३ रनको लक्ष्य पछ्याएको थाइल्याण्ड ३५ रनमै समेटिएपछि नेपालले ६७ रनको जित हासिल गरेको हो।
बुधबार दुबइको द सेभेन्स स्टेडियम, अजमानमा भएको खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा १ सय २ रन बनाएको थियो।
जवाफमा थाइल्यान्ड ११.४ ओभरमा ३५ रनमा अलआउट भयो। थाइल्याण्डका लागि अफिसरा सुवानचोनरथीले बनाएको १३ रन नै सर्वाधिक रह्यो। नेपालका लागि रचनाकुमारी चौधरीले ४ विकेट लिँदा पूजा महतो र रिया शर्माले समान २-२ विकेट लिएका थिए।
त्यस्तै कृष्मा गुरुङ र मनिसा कुमारी उपाध्यायले १-१ विकेट लिए। त्यसअघि पहिले ब्याटिङ गरेको नेपालका लागि पूजा महतोले सर्वाधिक ३५ रन बनाउँदा सोनी पाख्रिन र सिमा केसीले १९-१९ रन बनाए। थाइल्याण्डका लागि चरुकान सिमाले २ विकेट लिँदा सनिसा बंगकोडफोनगापाइले १ विकेट लिएकी थिइन्। जारी छनोटमा कुवेत, नेपाल र थाइल्याण्ड र युएइ सहभागी रहेका छन्।