झापा । झापामा आफैंले पालेको गोरुले हानेर एक जना पुरुषको मृत्यु भएको छ । गौरादह नगरपालिका–७ जामबारीका ४८ वर्षीय कृष्ण शर्माको मृत्यु भएको झापा प्रहरीका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए । शर्मालाई बुधबार साँझ गोरुले हानेर घाइते बनाएको थियो ।

बाँधेको ठाउँबाट फुकाएर अन्त सार्ने क्रममा शर्मालाई गोरुले हानेको स्थानीय सीताराम खड्काले बताए । उनका अनुसार गोरुको आक्रमणबाट घाइते भएका शर्मालाई थप उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल ल्याइएको थियो । त्यसअघि लाइफलाइन अस्पतालमा लगिएको थियो ।

गम्भीर अवस्थाका उनलाई उपचारका क्रममा बिहीबार दिउँसो ४ बजेतिर नोबेलका चिकित्सकले मृत घोषित गरेको जानकारी प्रहरीले दिएको छ । शवको कानुनी प्रक्रिया पूरा गर्न मोरङ प्रहरीसँग समन्वय भइरहेको डीएसपी चन्दले बताए ।

शर्मासँगै छिमेकी ४५ वर्षीय रविन राजवंशलाई पनि गोरुले हानेको थियो । टाउकोमा सीटी स्क्यान गर्नुपर्ने भएकाले उनलाई विराटनगरकै नोबेल ल्याइएको प्रहरीले जनाएको छ । अवस्था तत्काललाई सामान्य छ ।

14
Shares
१६ कार्तिक २०८१, शुक्रबार ०७:१६