विराटनगर । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औँ जन्मजयन्तीका अवसरमा विराटनगरमा विभिन्न कार्यक्रम गरिएको छ। विराटनगरको देवकोटा चौकमा रहेको देवकोटा पुस्तकालयले प्रत्येक वर्ष महाकवि देवकोटाको जन्मजयन्तीका अवसरमा कार्यक्रम गर्दै आएको छ। सोही क्रममा बिहीबार पुस्तकायलले देवकोटाका तस्बिर राखेर शोभायात्राको आयोजना गरेको छ।
शोभायात्राका क्रममा देवकोटाको तस्बिरलाई रथमा राखिएको पुस्तकालयका सभापति सुवोध निरौलाले जानकारी दिए। सभापति निरौलाका अनुसार करिब आधा घण्टा विराटनगरको वडा नम्बर ७, ८ र १० को मुख्य सडक हुँदै देवकोटा चौक पुर्याएर कार्यक्रम गरिएको थियो।
महाकवि देवकोटाले नेपाली भाषा, साहित्यको क्षेत्रमा योगदान पुर्याएको शोभायात्राका क्रममा वरिष्ठ साहित्यकार विवश पोखरेलले बताए। जन्मजयन्तीका अवसरमा पुस्तकालयले कवि सविता गौतम दाहालको एकल कविता वाचनको आयोजना गरेको थियो।
त्यसैगरी पुस्तकालयले रक्तदान कार्यक्रमसमेत आयोजना गरेको थियो। यसपटकको रक्तदानमा १९ जनाको सहभागिता रहेको सभापति देवकोटाले जानकारी दिए।