‘धनतेरसको दिनमा केही न केही किन्ने चलन छ । हुनेखाने वर्गले सुनकै गहना किन्न खोज्छन् तर अहिले मूल्य बढेकाले सुरक्षित लगानी गर्न ढिक्कामा जोड दिएको देखिन्छ,’ न्युरोडका एक गहना व्यवसायीले भने, ‘मंगलबारको बजार हेर्दा गहनाभन्दा ५ ग्राम, २५० ग्रामको सिक्का किन्ने धेरै देखिए ।’
तर विगतको तुलनामा भने सुनको बिक्रीमा कमी आएको ती व्यवसायीले बताए । ‘गत वर्ष धनतेरसको दिन देशभर ७० किलो सुन बिक्री भयो । यसपालि करिब ५० किलो बिक्री भएको अनुमान छ,’ उनले भने ।नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले यसपालि गहनाभन्दा ढिक्का सुनको माग बढेको बताए । उनले २५० ग्राम, आधा तोला र एक तोलाको माग र बिक्री बढेको जानकारी दिए । ‘विगतमा धनतेरसमा गहना, मूर्तिलगायत खरिद गर्ने चलन थियो ।
अहिले गहनाभन्दा ढिक्का खोजेका छन्,’ शाक्यले भने, ‘ढिक्का सुन किन्नुको एउटा मात्रै कारण बेच्न सजिलो र ज्याला, जर्ती नलाग्ने हो ।’ ज्याला र जर्तीका नाममा व्यवसायीहरूले १२ देखि १८ प्रतिशत जोड्दै आएका छन् ।