विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेशले कचनकवल–सगरमाथा जागरण अभियान गर्ने भएको छ। कांग्रेस कोशीका प्रवक्ता यदुकुमार विष्टले प्रदेश कमिटीको बैठकले निर्णय गरेको जानकारी दिँदै अभियानको तयारीलाई तीव्रता दिनका लागि सबै नेता कार्यकर्ताले सहयोग गर्नुपर्ने बताए।

मुलुकको होचो भूभाग कचनकवल रहेको झापादेखि अग्लो शिखर सगरमाथा रहेको सोलुखुम्बु जिल्लासम्म एक सय दिनको अभियान सुरु गरिने जानकारी दिए। उनका अनुसार सो अभियानले पार्टीको तल्लो तहदेखि प्रदेश र केन्द्रसम्मको सम्बन्धलाई विस्तार गर्ने र पार्टीलाई मजबुद बनाउनेछ।

सो अभियानलाई सहयोग पुर्‍याउन प्रदेशका ५६ निर्वाचन क्षेत्रमा प्रतिनिधि खटाउने उनको भनाइ छ। अभियानको संयोजकसमेत रहेका विष्टका अनुसार अभियानले ८४ सालमा हुने निर्वाचनमा कांग्रेसको भूमिकालाई थप सशक्त बनाउने विश्वास लिए।

बैठकको धारणा सार्वजनिक गर्दै प्रदेशका कोषाध्यक्ष राजेश गुप्ताले मंसिर २२ गते विराटनगरमा हुने प्रदेशको प्रथम सम्मेलनमा पार्टी सभापति शेरबहादुर देउवाले सहभागिता जनाउने बताए। पार्टी सभापतिको प्रमुख आतिथ्यतामा हुने प्रदेशको प्रथम भेलापछि कचनाकवल–सगरमाथा अभियान सञ्चालन हुने कोषाध्यक्ष गुप्ताले बताए।

प्रदेशको पहिलो बैठकमा राजनीतिक, सांगठनिक र आर्थिक प्रस्ताव तयार गर्न प्रदेशका महामन्त्रीद्वय उमेश थापा, भुपेन्द्र राई र कोषाध्यक्ष गुप्ता रहने बैठकले निर्णय गरेको छ। त्यसैगरि बैठकले मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा कांग्रेसका उम्मेदवारको पक्षमा जिताउन निर्वाचन हुने स्थानीय तहमा प्रतिनिधि खटाउने निर्णय गरेको छ।

14
Shares
१३ कार्तिक २०८१, मंगलवार १६:५८