विराटनगर । विराटनगरमा नरेश श्रेष्ठ मेमोरियल मेन्स यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता भोलिबाट हुने भएको हो । प्रतियोगिताको उद्घाटन खेलमा कोशी प्रदेश र मधेश प्रदेश प्रतिस्पर्धा गर्नेछन् ।
कोशी प्रादेशिक क्रिकेट संघले शुक्रबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको संघका अध्यक्ष शर्वजितराज पाण्डेले जानकारी दिए ।
नेपाल क्रिकेट संघ (क्यान) का प्रतिनिधि प्रवल गौतमले क्यानको वार्षिक कार्यक्रमअनुसार यस पटक कोशी प्रादेशिक क्रिकेट संघको समन्वयमा विराटनगरमा प्रतियोगिता हुन लागेको जानकारी दिए । यो प्रतियोगिता विगतमा वाइ वाइको नामबाट हुँदै आए पनि यस पटकदेखि प्रतियोगिताको नाममा नरेश श्रेष्ठ जोडिएर हुन लागेको हो । श्रेष्ठ क्यानका पूर्व उपाध्यक्ष थिए । उनैको स्मृतिमा नाम जोडेर प्रतियोगिता हुन लागेको हो ।
सिंगल राउण्ड रोबिनका आधारमा विराटनगरस्थित बैजनाथपुरको गिरिजाप्रसाद कोइराला क्रिकेट मैदान र मेर्लिबोन विराटनगर ज्वाला क्रिकेट मैदानमा हुनेछ । कात्तिक १० देखिदेखि कात्तिक २१ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद २ लाख रुपैयाँ, उपविजेताले १ लाख रुपैयाँका साथ ट्रफी प्राप्त गर्ने छन् ।
व्यक्तिगत विधातर्फ दैनिक प्लेयर अफ द म्याचले ३ हजार, म्यान अफ द सिरिजले ३५ हजार, उत्कृष्ट बलर र ब्याटर जनही २०–२० हजार रुपैयाँ प्राप्त गर्ने छन् ।