विराटनगर । मोरङका विभिन्न स्थानबाट ७ लाख ५० हजार रूपैयाँभन्दा बढीको अवैध सामान प्रहरीले बरामद गरेको छ ।
भारतबाट तस्करी गरेर नेपाल भित्राइएका सामान प्रहरीले पछिल्लो २ दिनको अवधिमा बरामद गरेको हो । भन्सार छली गरी ल्याइएका मेसिनरी पाट्र्स, खाद्यान्न, फूल, कपडासमेतका सामान बरामद गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले बताए ।
मोरङ प्रहरी प्रमुख बनेर एसपी नारायणप्रसाद चिमरिया आएपछि प्रहरीले तस्करीका सामान नियन्त्रणमा सक्रियता बढाएको छ । एसपी चिमरिया सोमबार मोरङ हाजिर भएका हुन् । मोरङ हाजिर हुनसाथ उनले विभिन्न युनिटका इन्चार्जलाई बोलाएर तस्करी नियन्त्रणमा ध्यान दिन र शून्य सहनशीलतामा काम गर्न निर्देशन दिए ।
मोरङको सुनवर्षी नगरपालिका–८ हरिश्चनगढीबाट २ लाख ८३ हजार ९ सय रूपैयाँ बराबरको मेसिनरी पाट्र्स प्रहरीले बुधबार राति बरामद गरेको छ । भारतबाट भन्सार छली गरेर नम्बर नखुलेको मोटरसाइकलमा लोड गरी नेपाल भित्राइएको पाट्र्स इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर सन्तोषकुमार खड्का नेतृत्वको टोलीले बरामद गरेको हो ।