विराटगगर । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको विराटनगर–१९ स्थित बैजनाथपुर अस्पतालमा बर्थिङ सेन्टर (प्रसूति सेवा) शुभारम्भ गरिएको छ ।

मंगलबार एक समारोहका बीच बर्थिङ सेन्टरको महानगरका मेयर नागेश कोइरालाले उद्घाटन गरे । अब बैजनाथपुर अस्पतालबाटै प्रसूति सेवा प्रदान गरिने भएको छ । विराटनगरको उत्तरी क्षेत्रलाई ध्यानमा राखेर बैजनाथपुर अस्पतालबाट प्रसूति सेवा शुभारम्भ गरिएको मेयर कोइरालाले बताए ।

अस्पतालबाट चौवीसै घण्टा सेवा दिने उनको भनाइ थियो । प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, सामाजिक विकास समितिका संयोजक काजीबहादुर कार्की, विराटनगर–१९ का वडाध्यक्ष श्याम घिमिरे, ९ का अध्यक्ष विश्वनाथ भगत, जिल्ला स्वास्थ्य कार्यालय मोरङका निमित्त प्रमुख मुलुकचन्द राजवंशी, स्थानीय समाजसेवी प्रशान्त चौधरी, स्वास्थ्य महाशाखाका अधिकृत रमेश कार्की, बैजनाथपुर अस्पतालका संयोजक भोला तिम्सिनालगायतले बर्थिङ सेन्टर सुरु भएसँगै शिशु र मातृ मृत्युदरमा कमी आउने विचार व्यक्त गरे ।

बैजनाथपुर अस्पतालबाट चौवीसै घण्टा प्रसूतिका साथै एम्बुलेन्स सेवा सञ्चालन भइरहेको स्वास्थ्य महाशाखाका संयोजक डा दिलीपकुमार यादवले जानकारी दिए ।

42
Shares
२२ आश्विन २०८१, मंगलवार १७:२१