विराटनगर । विराटनगर महानगरपालिकाले सहकारीलाई व्यवस्थित र अनुशासित बनाउन विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । जसअन्तर्गत सहकारीका अध्यक्ष र व्यवस्थापकलाई बोलाएर सहकारीका ऐन, नियम, चुनौती, आइपर्ने समस्या समाधानका उपायलगायतका विषयमा विज्ञहरुबाट जानकारी गराउन सुरु गरेको छ ।

सहकारी व्यवस्थापनसम्बन्धी अन्तरक्रिया कार्यक्रमसमेत सम्पन्न गरेको छ । महानगरका मेयर नागेश कोइरालाले कार्यक्रमको उद्घाटन गरे । कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले केही सहकारीका कारण सम्पूर्ण सहकारी बद्नाम भएको बताए ।

‘सहकारीको मर्म र भावनाविपरीत केही सहकारी सञ्चालन हुँदा समग्र सहकारी आन्दोलन नै बद्नाम भएको छ,’ उनले भने, ‘अझ राजनैतिक दलका नेताहरुसमेत सहकारीकाण्डमा मुछिँदा सहकारीप्रतिको विश्वास गिर्दै गएको छ ।’

प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले आफ्नो कार्यक्षेत्रभित्र रहेर लगानी गरेमा सहकारी कहिल्यै नडुब्ने बताए । उनले समयमै साधारणसभा गर्ने र तोकिएका ऐन कानुनअनुसार सहकारी सञ्चालन गरिए समस्या नआउने दाबी गरे ।

महानगरको आर्थिक विकास समितिका संयोजक श्याम घिमिरेले सहकारीलाई व्यवस्थित र अनुशासित बनाउन महानगर लागिपरेको बताए । वडा नम्बर १९ का अध्यक्षसमेत रहेका घिमिरेले सहकारीमा समस्या नआओस् भनेर महानगरले बेला–बेला विभिन्न तालिमसमेत सञ्चालन गर्दै आएको जानकारी दिए ।

महानगर क्षेत्रभित्र सञ्चालित १७२ वटा सहकारीमध्ये पहिलो चरणमा ५८ वटा सहकारीका अध्यक्ष र व्यवस्थापक गरी ११६ जनालाई कार्यक्रममा सहभागी गराइएको सहकारी शाखाकी रोजी कार्कीले जानकारी दिइन् ।

उनीहरुलाई प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालय, कोशी प्रदेश कार्यालयका रजिष्ट्रार सहकारी विज्ञ हरिबहादुर खत्रीले सहकारीका ऐन, नियम, सञ्चालन गर्दा आइपर्ने समस्या लगायतका विषयमा जानकारी गराएका थिए । सहकारी शाखाकी कार्कीका अनअुसार महानगरका सबै सहकारीका अध्यक्ष र व्यवस्थापकलाई तीन चरणमा प्रशिक्षण दिइनेछ ।

21
Shares
२१ आश्विन २०८१, सोमबार ०८:४२