विराटनगर । नेकपा एमाले विराटनगर महानगर संगठन कमिटीको अध्यक्षमा रोहित कोइराला चयन भएका छन् । अध्यक्षको जिम्मेवारी पाएपछि उनले बिहीबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
त्यस अवसरमा बोल्दै अध्यक्ष कोइरालाले आफूले पार्टीको महानगर कमिटी अध्यक्षको आधिकारिक जिम्मेवारी प्राप्त गरेको उल्लेख गरे ।
आफूप्रति नेता तथा कार्यकर्ताले राखेको आशालाई निराशामा परिणत नगर्ने वाचा गर्दै उनले महानगरको पार्टीलाई एकढिक्का बनाएर अघि बढ्ने प्रतिबद्धता पनि जनाए ।
महानगर कमिटीका पदाधिकारी तथा सदस्यहरु एवं १९ वटै वडा कमिटीहरुको साथ र सहयोगमा प्राप्त भएको अभिभारा पूरा गर्न प्रतिबद्ध भएको कोइरालाले बताए ।
समग्र विराटनगरको विकास र निर्माणको नेतृत्व र विराटनगरबासीका समस्याहरु निरुपण गर्न लागिपर्ने पनि उनले जनाए ।
कमिटीका उपाध्यक्ष, सचिव, उपसचिवद्वय लगायत सम्पूर्ण सदस्य कमरेडहरुलाई हार्दिक बधाई सहित रचनात्मक एवं उपलब्धिमूलक सहकार्यको अपेक्षा गरेको कोइरालाले उल्लेख गरे ।
कार्यक्रममा उनले भने, ‘एउटा सुनौलो इतिहास बोकेको विराटनगर महानगरको पार्टी कमिटीको नेतृत्व गर्ने अवसर प्रदान गर्नुहुने पार्टी जिल्ला संगठन कमिटीका अध्यक्ष र सचिव लगायत सम्पूर्ण पदाधिकारीहरु, पार्टी प्रदेश कमिटीका अध्यक्ष लगायत पार्टी जिल्ला इन्चार्ज, प्रदेश इन्चार्ज लगायत प्रत्यक्ष–परोक्ष सहयोग गर्नुहुने एवं शुभेच्छा प्रकट गर्नुहुने सम्पूर्णप्रति हार्दिक धन्यवाद र आभार प्रकट गर्दछु ।’