विराटनगर । लेखाइमा गल्ती भएको जनाउँदै मोरङको सुन्दरहरैँचा नगरापलिकामा रहेको एक निजी विद्यालयका विद्यार्थीमाथि कुटपिट भएको छ। सुन्दरहरैँचा नगरपालिकास्थित बाल प्रतिभा बोर्डिङ स्कुलका शिक्षक विजय राईले नपढेको र लेख्न गल्ती गरेको जनाउँदै कक्षा ६ मा अध्ययनरत छात्रामाथि कुटपिट गरेका हुन्।

असोज ४ गते भएको कुटपिटको घटनापछि पीडित पक्षलाई दबाब दिएर मिलाइएको छ। शिक्षक राईले कुटपिट गर्दा विद्यार्थीको शरीरका विभिन्न भागमा चोट लागेको पीडित परिवार पक्षले जनाएको छ।

सुरुमा घटना सामसुम पार्न दबाव दिइएको बताएका विद्यार्थीका अभिभावकका अनसार कानूनी कार्वाहीमा अघि नबढ्न पछिल्लोसमय चौतर्फी दबाव दिएर घटना सामसुम पार्ने प्रयास भएको छ।

विद्यार्थी कुटपिटको घटनासँगै अभिभावक इलाका प्रहरी कार्यालय बेलबारी उजुरी दिन पुगेका थिए। तर गाउँका ब्यक्तिले उजुरी नगर्न दबाव दिएपछि घटना प्रहरी कार्यालयको गेट बाहिर नै सीमित छ।

इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक कृष्णबहादुर खत्रीले घटनाबारे जानकार भए पनि कारबाही अघि बढाउन नसकेको बताए। घटनापछि पीडित पक्षले पीडक पक्षसंग सहमति गरी जाहेरी नदिएपछि कारबाही प्रक्रिया अघि बढाउन नसकिएको उनले बताए।

अमानवीय रुपमा कुटपिट भएको जनाउँदै विद्यार्थीका बुवाले भने, ‘हामीले थाहा पाउँदा कुटपिट भएपछि छोरी एक्लै शौचालयसमेत जान नसक्ने भएकी रहिछन्। साथीहरूले डोराएर लगेका रहेछन्। चोटका कारण अहिले पनि छोरी राम्ररी हिँडडुल गर्न सकिरहेकी छैनन्।’

घटनापछि विद्यालयका प्रधानाध्यापक गणेशप्रसाद दाहालले घटना सामान्य भएको उल्लेख गरे।

42
Shares
७ आश्विन २०८१, सोमबार १७:४९