विराटनगर । ज्योति विकास बैंकको कन्चनबारीस्थित शाखा कार्यालयका कर्मचारीले आफ्ना ऋणी ग्राहकहरुलाई मानसिक दबाब दिने गरेको पाइएको छ । उक्त बैंकबाट ऋण लिएका कतिपय ग्राहकहरुले आफूहरुलाई बैंकका कर्मचारीले घरमै आएर धम्क्याउने र मानसिक दबाब दिने गरेको बताएका हुन् ।
अरु बैंकले ८ देखि ११ प्रतिशत लिने गरेको ब्याज उक्त बैंकले १६ प्रतिशत लिने गरेको ऋणीहरुको गुनासो छ । ऋण तिर्ने, ब्याज बुझाउने म्याद पुग्नासाथ विभिन्न माध्यमबाट पटकपटक ताकेता गर्ने गरिएको छ ।
कतिपय ऋणीको घरमै गएर कर्मचारीहरुले दिनभरि बसेर मानसिक रुपले तनाव दिने गरेको गुनासो पनि बढेको छ । महिना पुगेकै दिनदेखि घरमै आएर बस्ने अनि धम्की दिँदै गुण्डागर्दी शैलीमा प्रस्तुत हुने गरेको एक ऋणीले बताए ।
बैंकका शाखा प्रबन्धक ऋण शाखाका कर्मचारी घर जाने गरेका छन् । उनीहरुले घर जग्गा लिलाम गरिदिन्छु भनेर धम्की दिने गरेका छन् ।
शाखाका प्रबन्धक विवेक दाहालले मोबाइलमा म्यासेज पठाएर अनावश्यक रुपमा दबाब दिने गरी ताकेता गर्ने गरेको भन्दै ऋणीहरुले आफूहरुलाई फोन गरेर समेत थर्काउने गरेको बताएका छन् ।
यसैबीच, कतिपय ऋणीहरुले मेडिकल क्षेत्रका व्यवसायी एवं बैंकहरुको गलत प्रवृत्तिको विरोधमा अभियान चलाउँदै आएका दुर्गा प्रसाईंलाई आफूमाथि परेको मर्काबारे जानकारी गराएका छन् ।
यस सम्बन्धमा प्रसाईंले पीडितहरुको साथमा रहेको बताएका छ । उनले भने, ‘यो बैंकको गलत काम हो । ग्राहकलाई दुःख दिनु, धम्क्याउनु गम्भीर कुरो हो । अवधिको एक दुई महिना पुग्दैमा कसैको सम्पत्ति लिलाम गर्ने कुरा आउँदैन ।’
बैंकका कर्मचारीहरुले भने आफूहरुले माथिको निर्देशन अनुसार काम गरेको दाबी गरेका छन् । माथिल्लो तहले दिने निर्देशन अनुसार आफूहरुले काम गर्ने भन्दै ती कर्मचारीले यसबारे केन्द्रीय कार्यालयमा बुझ्नुपर्ने बताए ।