विराटनगर । महामानव वीपी कोइरालाको १११ औं जन्मजयन्तीका अवसरमा विराटनगरमा टेबलटेनिस प्रतियोगिता सुरु भएको छ । नेपाली कांग्रेस मोरङ खेलकुद तथा युवा विभागको आयोजनामा सुरु भएको प्रतियोगिताको मोरङ कांग्रेसको उपसभापतिसमेत रहेका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले खेलकुदका माध्यमबाट मुलुकको नाम र पहिचान अन्तर्राष्ट्रियस्तरसम्म फैलाउन सकिने बताए । कार्यक्रममा नेपाली कांग्रेस मोरङकी कोषाध्यक्ष रञ्जु अधिकारी, नेपाल लोकतान्त्रिक खेलकुद संघ कोशी प्रदेश अध्यक्ष वसन्त अर्याल, नेपाल टेबलटेनिस संघका केन्द्रीय उपाध्यक्ष अनुज बानिया, मोरङ कांग्रेसको खेलकुद तथा युवा विभागका संयोजक प्रकाश दाहाल, नेपाल सुटिङ संघका प्रदेश अध्यक्ष नविन रेग्मीलगायतले विद्यालयस्तरदेखि नै खेलकुदको विकासमा लाग्नुपर्नेमा जोड दिए ।

दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा सामुदायिक तथा संस्थागत १८ विद्यालयका १४० जना खेलाडीले सहभागिता जनाएका छन् । ६ वटा इभेन्टमा जारी प्रतियोगिताका विजेतालाई शुक्रबार एक समारोहका बीच पुरस्कार र प्रमाणपत्र वितरण गरिने विभागका संयोजक दाहालले जानकारी दिए ।

28
Shares
२७ भाद्र २०८१, बिहीबार १८:१२