विराटनगर । विराटनगर हाटखोलास्थित आरोहण गुरुकुलमा आजदेखि विद्यालय नाटक महोत्सवको चौथो संस्करण सुरु हुँदैछ । बालकृष्ण पोखरेल नाटकघरमा हुने महोत्सवमा पहिलो नाटकका रुपमा सविन भट्टराई निर्देशनको ‘नीलाम्बरको आकाशयुद्ध’ नाटक मञ्चन हुने आरोहणका अध्यक्ष भैरव क्षेत्रीले जानकारी दिए ।
महोत्सव भदौ ३१ गतेसम्म चल्ने छ । महोत्सवमा मोरङको विराटनगर, विराट चोक, बेलबारी र रंगेलीका विद्यालयका विद्यार्थीहरुले १० वटा नाटक मञ्चन गर्ने छन् ।
आइतबार विराटनगरको ग्रेडेड इङ्लिस मिडियम सेकेण्डरी स्कुलले मनिषा राजवंशीको निर्देशनमा तयार नाटक बुद्धिमानी आमा, तेस्रो दिन दिल्ली पब्लिक स्कुल विराटनगरले मयुरेस वर्माद्वारा निर्देशित नाटक छिमेकी मञ्चन गरिने छ ।
चौथो दिन आदर्श माध्यमिक विद्यालय विराटनगरले प्रनिशा रेग्मीद्वारा निर्देशित नाटक भविष्य निर्माण, पाँचौ दिन ग्रीनल्याण्ड सेकेण्डरी स्कुल विराटनगरले चर्चिता अधिकारी र दित्शा लुँइटेल निर्देशित नाटक रङ, छैठौं दिन पूर्वाञ्चल विद्या सदन बोर्डिङ स्कुल विराटनगरले रेणुका बजगाईं घिमिरेद्वारा निर्देशित नाटक एक पटक बोलेको एक रुपियाँ मञ्चन हुनेछ ।
सातौं दिन नमुना विद्या मन्दिर विराटनगरले पशुपति रिमालद्वारा निर्देशित जिम्मेवारी कसको ?, आठौं दिन बेलबारीको मोरङ ज्ञानोदय सेकेण्डरी इङ्लिस स्कुलले विकास बुढाथोकीद्धारा निर्देशित नाटक स्मार्ट बन्द मञ्चन हुनेछ ।
नवौं दिन विराट चोकको सुबिजिमुर मेमोरियल सेकेण्डरी स्कुलले सोनाम तामाङद्वारा निर्देशित नाटक ‘ज्ञ’ र अन्तिम दिन भदौ ३१ गते रंगेलीको श्री एकता सेकेण्डरी स्कुलले रमेशचन्द्र अधिकारीद्वारा निर्देशित साबित्रीको बाख्रो मञ्चन हुने आरोहणले जनाएको छ ।