विराटनगर । दुर्घटनामा परेका घाइतेलाई राम्ररी उपचार नै नगरी विराटनगरको कन्चनबारीस्थित न्युरो आर्या हस्पिटलले हेलचेक्र्याइँ गरेको आफन्तले आरोप लगाएका छन् ।
झापाबाट मोटरसाइकलमा आउने क्रममा विराटनगर महानगरपालिका वडा नम्बर ६ रामपुरका २३ वर्षीय दिपेश कामत र मुना बिक घाइते भएका थिए । इटहरीतिरबाट गइरहेको अर्को मोटरसाइकलसँग ठोक्किएर विराट चोक नजिक उनीहरु दुर्घटनामा परेका थिए ।
गत आइतबारको दुर्घटनापछि उनीहरुलाई एउटा एम्बुलेन्सले आर्या हस्पिटल ल्याएको थियो । त्यहाँ इमर्जेन्सीमा भर्ना गरी प्रारम्भिक रुपमा करिब तीन घण्टा उपचार भएको थियो ।
घाइते कामतका काका रामकुमार चौधरीका अनुसार खासै उपचार नगरी तीन घण्टाको ३० हजार रुपैयाँको बिल थमाइएको थियो ।
त्यसपछि बिरामीलाई आईसीयुमा राख्नुपर्छ भनेर भित्र लगिएको चौधरीले बताए । आईसियुमा दुई दिन राखिएको उल्लेख गर्दै चौधरीले त्यहाँ पनि राम्रो उपचार नगरिएको गुनासो गरेका छन् । अनुहारमा लागेको रगत समेत नपुछिएको अवस्थामा बिरामीलाई राखिएको उनले बताए ।
पटक पटक बिरामीलाई भेट्न दिन आग्रह गर्दा पनि नदिइएको उनको भनाइ छ । आईसियुमा राखेको र औषधि समेत गरी ९८ हजार रुपैयाँको अर्को बिल थमाइएको चौधरीले बताए । उपचार खर्च भनेर रकम पनि अत्यधिक लिएको तर उपचारमा भने बेवास्ता गरेको चौधरीको भनाइ छ ।
त्यहाँ राम्रो उपचार नभएपछि बिरामीलाई बरगाछीस्थित लाइफ गार्ड अस्पताल लगिएको छ । चौधरीका अनुसार त्यहाँ उनको आँखाभन्दा मुनिको हड्डी र हातका दुईवटा औंलाको अप्रेसन गरिएको छ ।
आर्या हस्पिटलमा राम्रो उपचार नभएको भनेर गुनासो गर्दा त्यहाँका प्रशासकले आलटाल गर्दै बेवास्ता गरेको चौधरीले बताए ।

