३४ पेनाल्टी प्रहारपछि अयाक्स र पानाथिनाइकोजबीच बिहीबार राति भएको युरोपा लिगको छनोट चरण खेलको टुंगो लागेको थियो । अयाक्सले १३–१२ को पेनाल्टी नतिजा आफ्नो पक्षमा पार्न सफल भयो ।अयाक्सका ४० वर्षे गोलरक्षक रेम्को पास्भिरले ५ पेनाल्टी बचाउनुका साथै एउटा पेनाल्टी प्रहारमा आफैंले गोल गरेका थिए । रक्षक एन्टोन गाएइले टोलीबाट पेनाल्टीमा विजयी गोल गरे । ब्
राएन ब्र्रोब्बीले दुई पेनाल्टी चुकाए पनि डच टोलीले विजय हात पारेको हो । टोलीका बेर्टान्ड ट्राओरे र योउरी बासले पनि पेनाल्टी सदुपयोग गर्न सकेनन् । इंग्ल्यान्डका पूर्व कप्तान जोर्डन हेन्डरसनले अयाक्सबाट गोल गरेका थिए ।
पेनाल्टी शुटआउटमात्र २५ मिनेट चलेको थियो । अयाक्सका व्यवस्थापक फ्रान्सेस्को फारिओलीले यसलाई अविश्वसनीय भनेका छन् । ‘टोलीको भावना र समर्पण अद्भूत थियो,’ उनले जिगो स्पोर्टसँग भने, ‘हामी उत्कृष्ट थिएनौं । तर खेलाडीले जति प्रयास गर्नुपर्ने हो त्यो गरेनन् भनेर हामीले भनेका छैनौं ।’
युरोपियन प्रतियोगितामा यो दोस्रो सर्वाधिक पेनाल्टी स्कोरमा निर्णय भएको खेल हो । गत वर्ष कन्फ्रेन्स लिगमा ग्लेनटोरानले गिजरा युनाइटेडलाई १४–१३ पेनाल्टी प्रहारमा पराजित गरेका थिए । तर अयाक्स र पानाथिनाइकोजबीच भएको खेल यूईएफएका प्रतियोगितामा सर्वाधिक पेनाल्टी प्रहार भएको खेल बनेको छ ।
नेदरल्यान्ड्स र इंग्ल्यान्ड बीच यू–२१ युरोपियन च्याम्पियनसिपको खेलको नतिजा ३२ पेनाल्टीपछि आएको थियो । एम्स्टर्डममा भएको खेल ग्रिक टोलीले १–० ले जितेपछि समग्र स्कोर १–१ भएको थियो । टेटेले ८९ औं मिनेटमा गोल गर्दै पानाथिनाइकोजको आस देखाएका थिए ।