काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् महसुल बक्यौता रकम असुल गर्न चालिएका कदमबाट आत्तिएका केही व्यक्ति तथा संस्था आफूलाई कमजोर बनाउन र मनोबल गिराउन सुनियोजित रूपमा लागिरहेको दाबी गरेका छन् । नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डीआईजी) रमेश खरेलले एन्टी करप्सन नेटवर्ककातर्फबाट अख्तियारमा उजुरी दिएपछि घिसिङले सो कुरा बताएका हुन् ।

खरेलले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको विवरण र सञ्चार माध्यमबाट प्रशासित समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको कुलमानले जनाएका छन् । ‘उजुरी दर्ता गर्नासाथ त्यसलाई सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नुले निज खरेलबाट उक्त उजुरी सार्वजनिक खपत र आफू चर्चामा आउनलाई मात्र गरेको मेरो ठम्याइ छ। निष्ठासाथ आफ्नो जिम्मेवारी पूरा गरिरहेको व्यक्तिलाई हतोत्साहित बनाउन सुनियोजित रूपमा निज खरेलबाट निहित स्वार्थकासाथ यस्ता कामहरू भइरहेका थिए र छन्,’ उनले भनेका छन् ।

उनले थप भनेका छन्, ‘नेपाली जनतालाई भरपर्दो, गुणस्तरीय, पर्याप्त र सुरक्षित विद्युत् आपूर्ति उपलब्ध गराउने मुख्य उद्देश्यलाई इमानदारीपूर्वक जबाफदेही बनी आफ्नो जिम्मेवारी पूरा गरिरहेको व्यक्तिलाई बदनाम गराउने दुराशयका साथ लगाइएका आरोपहरूको खण्डन गर्दछु । यस्ता आरोपको भ्रममा नपर्न सबैलाई अनुरोध गर्दछु ।’

14
Shares
३० श्रावण २०८१, बुधबार १८:२१