विराटनगर । कोशी राजमार्गबाट विराटनगर विमानस्थलतिर जाने ‘एयरपोर्ट रोड’ लाई सौन्दर्यकरण गर्ने भनेर फलामे खाँबो गाड्दै झिलिमिली बत्ती बालियो । त्यसो गर्नका लागि सडक आसपास रहेका रुखहरु ढालियो । तर अहिले बिजोग भएको छ ।

त्यहाँ बालिएका झिलिमिली बत्ती अचेल बल्दैनन् । सुन्दर बनाउने भनिएको सडक अँध्यारो देखिएको छ । पहिलेभन्दा झन् कुरुप देखिन्छ । वर्षौं लगाएर हुर्काइएका अशोक र अरु जातका रुखहरु कहाँ पुगे पुगे ।

रुख काटेर अरु संरचना बनाउन थाल्दादेखि नै स्थानीय बासिन्दाले असन्तुष्टि जनाएका थिए । तर विराटनगर महानगरपालिकाले सडक क्षेत्र सुन्दर बनाउने भन्दै फलामे खम्बा गाड्यो । झिलिमिली बत्ती बाल्यो । अहिले ती सबै बल्न छाडेका छन् ।

विराटनगर महानगरपालिकाले उपभोक्ता समितिमार्फत सडक सौन्दर्यकरणको काम गरेको थियो । सुरुमा उक्त कामका लागि ९६ लाख ११ हजार ३ सय २९ रुपैयाँ लाग्ने भनिएको थियो । तर पछि लागत बढेर झण्डै तीन करोड पुगेको जनाइएको थियो ।

कोशी राजमार्गबाट विमानस्थलसम्म पुग्ने उक्त सडक बरु पहिले नै सुन्दर रहेको स्थानीय मनोज ढकाल बताउँछन् । प्राकृतिक रुपमा सुन्दर रहेको सडकलाई कृत्तिम तरिकाले सजाउन खोज्दा उल्टै क्षति भएको उनको भनाइ छ ।

सुरु सुरुमा झिलिमिली बत्ती बलेको सडक सर्वसाधारणका लागि आकर्षण पनि बनेको थियो । साँझपख त्यहाँ गएर फोटो खिच्ने, भिडियो खिचेर सामाजिक सञ्जालमा हाल्नेहरुको घुइँचो लागेको थियो । तर पछिल्लो समय कसैको ध्यान पुग्न सकेको छैन ।

प्राकृतिक रुपमै सुन्दर रहेको सडकलाई करोडौं रकम खर्चिएर कृत्रिम तरिकाले सुन्दर बनाउन खोज्दा एकातिर ठूलो रकम खेर गएको छ भने अर्कातिर हुर्किसकेका रुखहरु नष्ट भइसकेका छन् ।

सहरलाई सुन्दर बनाउन झिलिमिली बत्ती नै बाल्नुपर्छ भन्ने मानसिकताले गर्दा विकृति निम्तिएको हो । बिरुवा रोपेर, हुर्काएर हरियाली बनाउनुको साटो सहरलाई कुरुप बनाउने खाले गतिविधि स्थानीय तहले गर्दै जानु महानगरवासीका लागि उचित कुरा होइन ।

2.62k
Shares
२९ श्रावण २०८१, मंगलवार २०:२३