काठमाडौँ । आज अन्तर्राष्ट्रिय युवा दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । सरकारले विभिन्न कार्यक्रम गरी युवा दिवस मनाउन थालेको २० वर्ष पुग्न थालेको छ ।

युवा लक्षित गरी सरकारले ल्याइएका कार्यक्रम कार्यान्वयन प्रभावकारी नहुँदा युवाका मुद्दा अपेक्षाकृतरुपमा सम्बोधन हुन नसकेको युवाहरुको गुनासो छ ।

अहिले युवाको मुख्य समस्या बेरोजगार रहेको छ । स्वदेशमा रोजगारी र उद्यमशीलताको अवसर नहुँदा वार्षिक सात लाखभन्दा बढी युवा रोजगारीका लागि विदेशमा जाने गरेको विभिन्न सरकारी तथ्याङ्क छ ।

राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेत सरकारले युवा लक्षित ल्याइएका कार्यक्रम प्रभावकारी कार्यान्वयन नहुँदा रोजगार र उद्यमशीलतामा समस्यामा परेको बताउँछन् ।

सरकारले सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि २०७५ ल्याएको छ । तर यो कार्यविधिबाट हुने खाने र टाठाबाठाले मात्र अनुदान प्राप्त गरेका छन् ।

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा १६ देखि ४० वर्ष उमेर समूहका युवाको जनसङ्ख्या ४२ दशमलव ५६ प्रतिशत अर्थात एक करोड २४ लाख १२ हजार १७३ रहेको छ  । जनसाङ्ख्यिक हिसाबले युवाको जनसङ्ख्या धेरै छ ।

जनसङ्ख्यासँगै नीति निर्माण र नेतृत्वमा युवाको सहभागिता बढ्दो छ । सङ्घमा १२ प्रतिशत, प्रदेशसभामा २० प्रतिशत र पालिकामा ४१ प्रतिशत युवाको जनप्रतिनिधिमा सहभागिता रहेको छ । युवालाई स्वरोजगार बनाउनका लागि ‘युवा स्वरोजगार कोष’ पनि स्थापना गरिएको छ ।

राष्ट्रिय युवा नीति २०७२ र ‘युथ भिजन २०२५’ले पनि युवा विकासका व्यापक विषयलाई नीतिगत रूपमा समावेश गरेको छ । यस्तै प्रदेश, जिल्ला र पालिकामा पनि युवाका संरचना तयार गरिएका छन् । प्रदेश युवा परिषद्, जिल्ला युवा समिति र युवा क्लब सञ्जाल गठन गरिएका छन् ।

21
Shares
२८ श्रावण २०८१, सोमबार ०८:५२