काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले कांग्रेस-एमालेको गठबन्धनको सुशासन मन्त्री छनोटमा देखिएको भन्दै कटाक्ष गरेका छन्। कांग्रेस केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै डा. कोइरालाले सुशासनको धेरै प्रतिबद्धता गरेपनि संघ र प्रदेशमा मन्त्रीहरु छनौटले जिस्काइरहेको बताएका हुन्।
उनले भने, ‘वर्तमान सरकार गठनको सन्दर्भमा नेपाली काँग्रेस र एमालेले सुशासनको धेरै प्रतिबद्धता गरेका छन । तर व्यवहारमा संघ र प्रदेशमा मन्त्रीहरु छनोटले सुशासनलाई जिस्काइरहेको छ । हामी किन यसरी सुशासनको सन्दर्भमा बारम्बर चुक्दै छौँ ?’
उनले सुशासन केवल शब्द रटान र पार्टीको घोषणापत्रमा लेखिने कुरा मात्र होइन आम नागरिकले अनुभूति गर्ने कुरा भएको उनको भनाई छ । कोइरालाले भने,‘कांग्रेस नवनिर्माणको वाटो, पार्टीमा मूल्य र सिद्धान्तको नवनिर्माण अभियान, सरकारमा गएकाहरुको सुशासनप्रतिको निष्ठा र पार्टीमा आवद्ध साथीहरुको एकतावद्ध प्रयासबाट मात्र कांग्रेस रुपान्तरण सम्भव छ, तसर्थ भविष्यको कांग्रेसको नयाँ राजमार्ग यिनै वाटोवाट मात्र बन्छ भनी विश्वासका साथ हामी अघि बढौं ।’