सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा विभागीय डर्बी भिडन्तमा पुलिसले एपिएफलाई १-० ले पराजित गर्दा मंगलबार नै भएको अर्को खेलमा आर्मी र थ्री स्टारले १-१ गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन्।
दशरथ रंगशालामा भएको खेलमा मिडफिल्डर लाकेन लिम्बुको मैदानको मध्यभागबाट गरेको प्रहार गोलरक्षक अगाडि बढेको मौकामा आकर्षक गोल भएपछि थ्री स्टारले खेलमा अग्रता लिएको थियो।
तर निर्धारित समयको ४ मिनेट बाँकी रहँदा दिनेश हेन्जनले आर्मीका लागि बराबरी गोल फर्काएका थिए।
पहिलो हाफमा दुबै टिमले गोलका केही सीमित अवसर सिर्जना गरेपनि सदुपयोग गर्न नसक्दा खेल गोलरहित बराबरीमा सकिएको थियो। तर खेलको ६८ औं मिनेटमा लाकेन लिम्बुले आकर्षक गोल गरेका थिए। विकेश कुथुले प्रहार गरेको किक मिडफिल्डमा लाकेन लिम्बुले नियन्त्रणमा लिँदै सोझै विपक्षी पोस्टमा प्रहार गर्दा विकेशले मुस्किलले बचाउने प्रयास गरेपनि उनी असफल भएका थिए।
७३ औं मिनेटमा थ्री स्टारका डिफेन्डर पिटर सेगुनले दिनेश हेन्जनको फ्रिकिकलाई गोललाईनबाट क्लियर गर्दै टिमको सम्भावित बराबरी केही समयलाई टारेका थिए।
तर ८६ औं मिनेटमा आर्मीले बराबरी गोल फर्कायो। सुदिल राईको क्रसमा दिनेश हेन्जनको हेड गर्दै आर्मीलाई एक अङ्क निश्चित गरेका थिए।
बराबरीसँगै थ्री स्टार १८ खेलमा २६ अंक जोड्दै चौथो स्थानमा उक्लिएको छ। आर्मी भने १८ खेलमा २५ अंकसाथ छैटौं स्थानमा नै छ।
त्यस्तै मंगलबार नै भएको अर्को खेलमा नेपाल पुलिसले एपिएफलाई हराउँदै तत्काललाई रेलिगेशन जोन छोडेको छ।
च्यासल मैदानमा पुलिसले विभागीय डर्बी भिडन्तमा एपीएफलाई १-० ले पराजित गरेको हो।
पुलिसको जितमा मोसेस ग्याबाह तुमले गरेको एकमात्र गोल निर्णायक बन्यो। पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा मोसेसले ६१ औं मिनेटमा गोल गर्दै पुलिसलाई अग्रता दिलाए।
जुन अग्रता अन्तिम सम्म कायम रहँदा पुलिसले महत्वपूर्ण तीन अङ्क हासिल गर्यो। जितसँगै पुलिसले १८ खेलमा २२ अंक जोड्दै १० औ स्थानमा उक्लिंदा एपीएफको पनि समान २२ अंक भएपनि ११ औ स्थानमा धकेलिएको छ।