काठमाडौँ ।राष्ट्रिय सभा सदस्य वामदेव गौतमले सरकारले उच्च शिक्षा पूर्णरुपमा निःशुल्क गराउन सक्नुपर्ने बताएका छन् ।

दिगो विकास तथा सुशासन समितिको शुक्रबारको बैठकमा बोल्दै उनले आफ्नो आवश्यकताबमोजिम सरकारले प्राविधिक र गैरप्राविधिक क्षेत्रमा लगानी विस्तार गरी काम अघि बढाउनुपर्ने बताए ।

उनले भने, ‘उच्च शिक्षामा नेपालको सरकारले पूर्ण रुपमा निःशुल्क गराउन सक्नुपर्छ । आफ्नो आवश्यकताबमोजिम प्राविधिक र गैरप्राविधिक क्षेत्रमा अघि बढाउनुपर्छ ।’

देशक‍ा लागि आवश्यक जनशक्ति यहीं नै उत्पादन गर्नसके मात्रै शिक्षा क्षेत्रको विकास हुने उनको भनाइ थियो ।

उनले सरकारले स्वदेशमा नै उच्च गुणस्तरीय शिक्षा दिने ग्यारेन्टी गरेर विद्यार्थीहरुलाई विदेश अध्ययनका लागि जान रोक लगाउनुपर्ने सुझाए । उनले शैक्षिक शक्ति निर्माण गर्न र विश्वमा प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति निर्माण गर्ने कुराको ग्यारेन्टी विश्वविद्यालयले लिन सक्नुपर्ने पनि बताए ।

सदस्य गौतमले नेपाललाई चाहिने विज्ञ जनशक्ति कसरी नेपालमा नै उत्पादन गर्ने भन्ने बारेमा राज्य संवेदनशील हुनुपर्ने बताए ।

49
Shares
२९ बैशाख २०८०, शुक्रबार १७:५९