जनकपुरधाम । भौगोलिकरुपमा सुगम र सहज रहे पनि मधेस प्रदेशका हजारौं बालबालिका अझै विद्यालयको पहुँचभन्दा बाहिर छन् । सरकार र दातृ निकायले बर्सेनि ठूलो धनराशी खर्चेर चलाउँदै आएको विद्यालय भर्ना अभियान औपचारिकता मै सीमित भएपछि दलित तथा सीमान्कृत बस्तीमा यसको खासै प्रभाव परेको छैन ।

धनुषाको नगराईन नगरपालिका फुलगामाको यो रामबाग गाँउ हो । शैक्षिक सत्र शुरु भएसंगै विद्यालय बाहिर रहेका बालबालिकालाई भर्ना गराउन अभियान चलाएपनि प्रभावकारी हुन सकेको छैन। दलित तथा पिछडिएका वर्गको १ सय ५० घरपरिवारको बसोबास रहेको यस गाँउका अधिकांश बालबालिकाहरु बिद्यालयको पहुँचभन्दा बाहिर छन् । विद्यालयको शैक्षिक वातावरण सुधार नहुँदा अभिभावकहरुले विद्यालय पठाउन मानेका छैनन् ।

महोत्तरीको दलित, सीमान्तकृत तथा पिछडिएका मुसहर बस्तीको अवस्था पनि उस्तै छ । शैक्षिक र सामाजिक रुपमा पछि पारिएका यस समुदायमा शिक्षाको महत्वबारे जानकारी नै छैन । घर नजिकै विद्यालय रहेपनि शिक्षक र जनप्रतिनिधिले पनि शिक्षाको महत्व बुझाउन नसकेका कारण आर्थिक अभाव देखाउँदै अभिभावकहरु बालबालिकालाई विद्यालय पठाउनबाट पन्छिँदै आएका छन् ।

एक सर्वेक्षण अनुसार मधेस प्रदेशको आठ जिल्लामा १ लाख ५० हजारभन्दा बढी बालबालिकाहरु विद्यालयभन्दा बाहिर छन् । विद्यालय जानबाट बन्चित बालिबालिकाको संख्या धनुषा र पर्सामा मात्र ५० हजारभन्दा बढी रहेको अनुमान छ ।

कतिपय यस्ता अभिभावकसंग नागरिकता छैन भने बालबालिकाहरुको जन्मदर्ता हुने कुरै भएन । पढ्ने रहर भएपनि जन्मदर्ता नरहेकै कारण शिक्षकले नामांकन गर्न नमानेपछि अभिभावकले पनि बालबालिकालाई घाँस, दाउरा र बाख्रा चराउने काममा लगाउनुका साथै कलिलो उमेरमै मजदुरी गर्न पठाउने गरेका छन् ।

प्रत्येक वर्ष शैक्षिक सत्र सुरु हुने बेला तामझामसहित विद्यालय भर्ना अभियान नै चलाइन्छ । तर, विद्यालयबाट बाहिर रहेका बालबालिकाको भने कुनै खोजीनिती नै हुँदैन । भर्ना भएका बालबालिकालाई पनि विद्यालयहरुले टिकाउन नसक्दा धेरै बालबालिका बिचमै छोड्ने गरेका छन् ।

42
Shares
२४ बैशाख २०८०, आईतवार ०६:५७