सूचना प्रविधिको प्रयोगबाट हुने साइबर अपराध कसरी रोक्न सकिन्छ भनेर थप छलफल र अध्ययन गर्ने उहाँको भनाइ छ । नेपालमा कम्प्युटर एसोसिएशन नेपाल (क्यान) सन् १९९२ मा स्थापना भएको थियो, क्यान स्थापना भएको दिनलाई सूचना प्रविधि दिवसका रूपमा मनाउन थालिएको हो।
नेपालमा २०२८ सालमा कम्प्युटर भित्रिएको थियो । सरकारले सूचना प्रविधिको उपयोग गरी आर्थिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रमा रुपान्तरण गर्ने उद्देश्यका साथ डिजिटल नेपाल फ्रेमवर्क २०७६ कार्यान्वयनमा ल्याएको छ ।सूचना तथा सञ्चार प्रविधिको विकास र विस्तारसँगै साइबर अपराध पनि बढ्दै गएको छ । ह्याकिङ, बौद्धिक सम्पत्ति चोरी, क्रेडिट कार्ड क्लोनिङ, फिसिङ, व्यक्तिको मानहानि, सफ्टवेयर पाइरेसी, झुटा इमेल, यौन उत्पीडन, साइबर बुलिङलगायतको जोखिम बढेको छ ।
ह्याकर र साइबर अपराधीले नेपालका सूचना तथा सञ्चार प्रविधि सम्बन्धी गतिविधिलाई नियालिरहे पनि रोकथाममा प्रभावकारी काम हुन सकेको छैन । केही समय अघि इजरायल र फ्रान्स लगायत देशबाट नेपालको सरकारी डाटा सेन्टरमा आक्रमण भएको थियो । त्यसैका कारण सरकारी वेबसाइटहरू केही समय बन्द भएका थिए भने अध्यागमन विभागमा समेत असर परेको थियो । केही वर्षपहिले पनि सरकारी डाटा सेन्टरमा साइबर आक्रमण भएर सरकारी वेबसाइटहरू बन्द भएका थिए ।